शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

भाका नाघेका ऋणीलाई राहत दिन एनआईसी एसिया बैंकले ल्यायो छुटसम्बन्धी योजना

सोमबार, असार १० २०८१
भाका नाघेका ऋणीलाई राहत दिन एनआईसी एसिया बैंकले ल्यायो छुटसम्बन्धी योजना

यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरुको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने बैंकको विश्वास छ।

काठमाडौं- एनआईसी एसिया बैंकले भाका नाघेका ऋणीहरुका लागि ब्याज रकममा छुटसम्बन्धी योजना ल्याएको छ।

२०८० चैत मसान्तसम्ममा भाका नाघेका ऋणीले यो वर्षको असार मसान्तभित्र कर्जा रकम चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत छुट दिने योजना बैंकले ल्याएको हो।

बैंकका अनुसार २०८० चैत मसान्तसम्ममा ९१ दिनदेखि १८० दिन भाका नाघेका ऋणीले २०८१ असार मसान्तभित्र कर्जा रकम चुक्ता गरेमा साधारण ब्याज रकममा १५ प्रतिशत, १ सय ८१ दिनदेखि ३ सय ६५ दिन भाका नाघेकाले २५ प्रतिशत र ३ सय ६५ दिनभन्दा बढीको समयावधि नाघेकाले ३५ प्रतिशत ब्याज छुट प्राप्त गर्न सक्नेछन्।

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले बैंकले यो योजना ल्याएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले बताए।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भइ लाभ लिन सक्ने उनको भनाइ छ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकको विश्वास छ।


प्रकाशित : सोमबार, असार १० २०८११४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend