शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

वित्तीय संस्थाका सञ्चालकद्वारा कर्जाको चरम दुरुपयोग, आफू आवद्ध संस्थाबाट आफ्नै व्यवसायमा कर्जा प्रवाह

व्यक्तिगत विदेश भ्रमणलाई संस्थागत देखाएर बुझ्छन् मोटो रकम

सोमबार, असार १० २०८१
वित्तीय संस्थाका सञ्चालकद्वारा कर्जाको चरम दुरुपयोग, आफू आवद्ध संस्थाबाट आफ्नै व्यवसायमा कर्जा प्रवाह

काठमाडौं- विकास बैंक र वित्त कम्पनीको उच्च व्यवस्थापनमा रहेकाहरू तथा सञ्चालकहरूले कर्जाको चरम दुरुपयोग गरेको पाइएको छ। आफू सञ्चालक वा उच्च व्यवस्थापनमा भएकै वित्तीय संस्थाबाट आफ्नै व्यवसायमा कर्जा लगानी गरेको पाइएको छ। 

विकास बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूले आफ्नो परिवारभित्रैकै व्यक्तिको नाममा कर्जा लिएर आफूले सञ्चालन गरेको व्यवसायमा लगानी गरेको देखिएको हो। 

बैंक वित्तीय संस्थाका प्रमुख वा सञ्चालकहरूले आफू आवद्ध भएको संस्थाबाट ऋण लिएर आफ्नै संस्थामा कर्जा लगानी गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। तर राष्ट्र बैंकको उक्त व्यवस्थालाई चुनौती दिनेगरी वित्तीय संस्थाका सञ्चालकहरूले कर्जा लगानी गरेको भन्दै राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले प्रतिवेदन सार्वजनिक गरेको छ। 

आफ्नै परिवारका नाममा, आफ्नै संस्थामा कर्जा लगानी गर्नुका साथै वित्तीय संस्थाको उच्चपदस्थहरूले संस्थाको स्रोतको चरम दुरुपयोग गरेको प्रतिवेदनमा उल्लेख छ। 

केही वित्तीय संस्थाका प्रमुख कार्यकारीअधिकृतहरूले नियुक्तिपत्रमा सम्झौता भएबमोजिमभन्दा विपरीत गएर तलब भत्ता र सेवा सुविधा लिने गरेको देखिएको छ। 

राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत सम्झौतापत्रमा तोकिएभन्दा बढी तलब भत्ता नलिन नपाउने व्यवस्था गरेको छ। कतिपय वित्तीय संस्थाका सञ्चालकहरू सञ्चालक समितिको बैठकमा अनुपस्थित रहने तर बैठक भत्ता लिने गरेको देखिएको छ। 

व्यक्तिगत वैदेशिक भ्रमणलाई पनि संस्थागत देखाएर वित्तीय संस्थाका उच्चपदस्थहरूले खर्च लिने गरेको राष्ट्र बैंकको प्रतिवेदनले औँल्याएको छ।

यस्तै वित्तीय संस्थाले उठाउने माइनुट अपारदर्शी भएको, सम्भावित जोखिमबारे बोर्ड सञ्चालकहरूले छलफल गर्ने, पहिचान गर्ने, मापन गर्ने, अनुगमन तथा नियन्त्रण गर्नेलगायतका कुनै पनि काम नगरेको राष्ट्र बैंकको ठहर छ। 


प्रकाशित : सोमबार, असार १० २०८११५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend