शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबिच समझदारी

सोमबार, असार १० २०८१
कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबिच समझदारी

यस सम्झौताअनुसार नबिल बैंकले कृषि लगानीका लागि बजार विस्तार तथा क्षमता अभिवृद्धि गर्नेछ।

काठमाडौं- नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धनका लागि एक समझदारी गरेका छन्।

कृषि प्रवर्द्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण, तथा साना किसानहरूमा उद्यमशीलता विकासका लागि समझदारी गरिएको हो। सम्झौतापत्रमा नबिलका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र मुक्तिनाथका प्रबन्ध निर्देशक भरतराज ढकालले हस्ताक्षर गरेका छन्।

यस सम्झौताअनुसार नबिल बैंकले कृषि लगानीका लागि बजार विस्तार तथा क्षमता अभिवृद्धि गर्नेछ। मुक्तिनाथ कृषि कम्पनीले तालिम तथा विकास, सल्लाहकार सेवा, ग्राहक र कर्मचारीलाई खाद्य साक्षरता अभिवृद्धि गर्न सहयोग गर्ने उल्लेख गरिएको छ।

ग्राहकहरूको आवश्यक वित्तीय र गैरवित्तीय सेवाहरूमा पहुँच विस्तार गर्ने मुख्य उद्देश्यले गरिएको यो समझदारी हरित वित्तपोषण र कृषिसम्बन्धी परियोजना विकास तथा कार्यान्वयनमा महत्त्वपूर्ण हुने बैंकले जनाएको छ।

नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले देशको अर्थतन्त्रमा कृषिको महत्त्वपूर्ण भूमिका रहेको भन्दै यसको विकासमा बैंक सहयोगी बन्ने बताए। बैंकले कृषि लगानीमा लिएको लक्ष्य पूरा गर्न यो साझेदारीले राम्रो भूमिका खेल्ने उनको भनाइ छ।

वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले कृषि क्षेत्र विकासका लागि कृषिमा क्रान्ति आवश्यक रहेको बताए। मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक ढकालले यो साझेदारीले साझा परियोजना विकासमा एक अर्कालाई सहयोग गर्ने बताए।

नबिल बैंकले पछिल्ला वर्षहरूमा हरित वित्तपोषणमा लगानी अभिवृद्धि गर्दै आएको जनाएको छ।


प्रकाशित : सोमबार, असार १० २०८१११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend