शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

साताभर कमजोर देखियो सेयर बजार, ४३ अंकले घट्यो

बिहीबार , असार ६ २०८१
साताभर कमजोर देखियो सेयर बजार, ४३ अंकले घट्यो

काठमाडौं- गएको साता समग्रमा ३४.३६ अंकले बढेको सेयर बजार यो साता भने ४३.९७ अंकले घटेको छ। सेयर बजारमा यो साता कारोबार भएका चार दिनमा तीन दिन बजार ओरालो लाग्यो भने एक दिन सामान्यमात्र वृद्धि भयो।

कमजोर भइरहेको बजार वृद्धितर्फ जाने अपेक्षाविपरीत निरन्तर ओरालोतिर नै छ। सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै सेयर बजारमा ओरालो गति नै बढी देखिएको हो। 

यो साता आइतबार १७.०४ अंकले घटेको बजार सोमबार बन्द रहेको थियो। मंगलबार पुन: १८.७६ अंकले घटेको बजार बुधबार भने थामिएको हो। बुधबार २.२७ अंकले बढेर बजार २०७८.७६ बिन्दुमा पुगेको थियो। 

बिहीबार १०.४४ अंकले घटेर बजार २०६८.३१ बिन्दुमा पुगेको छ। ५२ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ। १८६ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा बजार धरमर भइरहेको हो। लामो समयदेखि बजार उतारचढावबीच २००० देखि २१०० बिन्दुकै आसपासमा छ। आउने साता पनि बजारमा ठूलो फेरबदल हुने देखिँदैन। 

विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिएको बजारमा केही संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा भए पनि बजारले गति लिन सकेको छैन। 


प्रकाशित : बिहीबार , असार ६ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend