काठमाडौं- गएको साता समग्रमा ३४.३६ अंकले बढेको बजार यो साताका दुई कारोबारमा नै ओरालोतिर लागेको छ। सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै सेयर बजारमा ओरालो गति नै बढी देखिएको छ।
यो साता आइतबार १७.०४ अंकले घटेको बजार सोमबार बन्द रहेको थियो। मंगलबार पुन: १८.७६ अंकले घटेर बजार २०७६.४९ बिन्दुमा झरेको छ। ४० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ। १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
गएको साता पहिलो कारोबारमा आइतबार ४.५९ अंकले घटेको बजार सोमबार ८.९० अंक, मंगलबार ३३ अंक र बुधबार पनि ६.३७ अंकले बढेको थियो। बिहीबार भने ९.३२ अंकले घटेको थियो।
उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।
विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा बजार धरमर भइरहेको हो। लामो समयदेखि बजार उतारचढावबीच २००० देखि २१०० बिन्दुकै आसपासमा छ।
विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिएको बजारमा केही संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा भए पनि बजारले गति लिन सकेको छैन।