शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सहकारीका ऋणी सदस्यलाई समयमै ऋण फिर्ता गर्न विभागको ताकेता

बिहीबार , जेठ ३१ २०८१
सहकारीका ऋणी सदस्यलाई समयमै ऋण फिर्ता गर्न विभागको ताकेता

प्रचलित कानूनी व्यवस्थाको पूर्ण परिपालना गरी बक्यौता असुली गर्नेतर्फ थप क्रियाशील हुन सम्पूर्ण सहकारी संस्थाहरुलाई विभागले निर्देशन दिने तयारी गरेको छ।

काठमाडौं- सहकारी संस्थाका ऋणी सदस्यहरुले लिएको ऋणको साँवाब्याज तत्काल फिर्ता गराउन सहकारी विभागले पहल थालेको छ। सहकारीका सदस्यहरुले संस्थाबाट लिएको ऋण फिर्ता नगर्दा केही सहकारी संस्था समस्याग्रस्त भएको भन्दै विभागले सूचना नै जारी गरी तत्काल साँवाब्याज फिर्ताका लागि ताकेता गर्दैछ।

ठूला तथा नाम चलेका सहकारी संस्थाका सञ्चालकहरुले कर्जाको दुरुपयोग गरी ऋणको साँवाब्याज फिर्ता नगर्दा संस्थाहरु नै समस्यामा परेको गुनासो आएको विभागको भनाइ छ। 

'सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणी सदस्यहरुले तोकिएको समयभित्र ऋणको साँवा तथा ब्याज चुक्ता नगर्दा केही संस्थाहरुमा तरलताको समस्या भइ सदस्यहरुको बचत फिर्ता गर्न नसकेको गुनासो आइरहेको छ। सहकारी सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमै आफूले भुक्तान गर्नुपर्ने साँवा ब्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्तामा नकारात्मक असर परेको छ', विभागले भनेको छ।

सहकारी ऐन २०७४ को दफा ७९ तथा सहकारी नियमावली २०७५ को नियम ३० मा सहकारी संस्थाहरुले ऋण तथा बाँकी बक्यौता असुली गर्नेसम्बन्धी व्यवस्था गरेकाले कानूनको परिपालना गर्न विभागले भनेको छ।

प्रचलित कानूनी व्यवस्थाको पूर्ण परिपालना गरी बक्यौता असुली गर्नेतर्फ थप क्रियाशील हुन सम्पूर्ण सहकारी संस्थाहरुलाई विभागले निर्देशन दिने तयारी गरेको छ।

सहकारी संस्थाका सम्पूर्ण ऋणी सदस्यहरुलाई प्रचलित ऐन नियमावली, निर्देशिका एवं मापदण्डको बर्खिलाप नहुने गरी सम्झौताबमोजिम ऋणको साँवाब्याज समयमा नै भुक्तानी गर्न विभागले सूचना नै जारी गर्न लागेको हो।


प्रकाशित : बिहीबार , जेठ ३१ २०८११७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend