शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

लगातार तीनदिनको वृद्धिपछि पुन: ओरालोतिर सेयर बजार, कारोबार रकम भने बढ्यो

बिहीबार , जेठ ३१ २०८१
लगातार तीनदिनको वृद्धिपछि पुन: ओरालोतिर सेयर बजार, कारोबार रकम भने बढ्यो

लगातार तीन कारोबारमा बढेको बजार साताको अन्तिम कारोबारमा बिहीबार भने ९.३२ अंकले घटेर २११२.२९ बिन्दुमा ओर्लिएको छ।

काठमाडौं- सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारले सुधारतर्फको संकेत गरे पनि त्यो निरन्तर हुन सकेको छैन। यो साता उतारचढावबीच लगातार उकालो लागिरहेको सेयर बजार निरन्तर उल्लेख्य वृद्धितर्फ जाने आशमा लगानीकर्ताहरू रहँदा बजार भने पुन: ओरालो लागेको छ।

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा धरमर भइरहेको बजार यो साता आइतबार एकदिनको गिरावटपछि त्यसयता निरन्तर वृद्धितर्फ लम्किएको थियो।

साताको पहिलो कारोबारमा आइतबार ४.५९ अंकले घटेर बजार २०७३.१९ बिन्दुमा झरेको थियो। सोमबार ८.९० अंकले बढेको बजार मंगलबार ३३ अंकले बढेको थियो। बुधबार पनि ६.३७ अंकले बढेर बजार २१२१.६२ बिन्दुमा उक्लियो।

लगातार तीन कारोबारमा बढेको बजार साताको अन्तिम कारोबारमा बिहीबार भने ९.३२ अंकले घटेर २११२.२९ बिन्दुमा ओर्लिएको छ। बिहीबार ९४ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रूपैयाँको कारोबार भएको छ। आज एकसय ४७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन। 

उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा बजार धरमर भइरहेको हो।

विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिएको बजारमा केही संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा भने छन्। संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।


प्रकाशित : बिहीबार , जेठ ३१ २०८११४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend