शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

गर्मी छल्न जलबिरे झरनामा पर्यटक

images
आइतबार, जेठ १३ २०८१
images
images
गर्मी छल्न जलबिरे झरनामा पर्यटक

झरनामा आउने पर्यटकबाट लिने शुल्कबाट गाउँपालिकाले चालु आवको हालसम्म १७ लाख रूपैयाँ आम्दानी गरिसकेको छ।

images
images

भरतपुर- चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका-६ मा रहेको जलबिरे झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।

images
images
images

प्राकृतिक झरनाको चिसो पानी, झरनाबाट उछिट्टिएर निस्किने पानीका मसिना छिटा र मनोरम हरियाली वातावरण भएकाले तराईको गर्मी छल्न आन्त्रिक पर्यटक यहाँ आउने गरेका छन्।

यतिबेला तराईका जिल्लामा अत्यधिक गर्मी बढिरहेको छ। चितवनको तापक्रम पनि शनिबार ३९ डिग्रीसम्म पुग्यो। गर्मीले आत्तिएका तराईका मानिसलाई केही समय भए पनि गर्मी छल्ने माध्यम बनेको छ चितवनको जलबिरे झरना। युवयुवती झरनामा रमाउन, तस्बिर तथा भिडियो लिँदै मनोरञ्जन लिन यहाँ पुग्ने गरेका स्थानीय बताउँछन्।

images

भीर, पहरा र छहराको संयोग, प्राकृतिकरुपले भरिपूर्ण जलबिरे झरना यहाँको उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। पर्यटकहरु यहाँ झरना हेर्न, झरनामा पौडी खेल्न तथा गर्मी छल्न यहाँ आउने गरेका उनको भनाइ छ।

images

'प्राकृतिक झरनाको चिसो पानी, झरनाबाट उछिट्टिएर निस्किने पानीका मसिना छिटा र मनोरम हरियाली वातावरणले तराईको हपहपी गर्मी भुलाइदिने गरेको छ', अध्यक्ष गुरुङले भने, 'गर्मीले उकुसमुकुस भएका पर्यटक यहाँ आउँदा सबै बिर्सिन्छन्।'

गाउँपालिकाले यस वर्ष जलबिरे झरनामा सेल्फी जोन निर्माण, रंगरोगन, सिँढी मर्मतलगायत पूर्वाधार निर्माण गरिरहेको अध्यक्ष गुरुङले जानकारी दिए। 'झरनाको प्राकृतिक संरचना नबिग्रने गरी काम गरिएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षमा यस क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दैछ', उनले भने।

अध्यक्ष गुरुङका अनुसार झरनामा आउने पर्यटकबाट लिने शुल्कबाट गाउँपालिकाले चालु आवको हालसम्म १७ लाख रूपैयाँ आम्दानी गरिसकेको छ। यहाँ प्रवेश शुल्क ५० रूपैयाँ लिने गरिएको छ। उनले झरनामा प्रदेश र संघ सरकारको सहकार्यमा केही भौतिक संरचना निर्माण गरिएको जानकारी दिए।

नारायणगढ-मुग्लिन सडकअन्तर्गत पर्ने जलबिरेको १०२ मिटरभन्दा लामो यो झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दुरीमा पर्दछ। सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुग्न सकिन्छ।

झरनामा आएका काठमाडौंका सुरज ढुंगानाले झरनाको दृश्य र वातावरणले आफू साथीहरुसँग दोस्रोपटक पनि घुम्न आएको बताए। 'पहिला आउँदा कम पर्यटक थिए। अहिले निकै धेरै घुम्न आउने गर्नुहुँदो रहेछ', उनले भने, 'झरना र वरपरको संरचनालाई केही व्यवस्थित बनाइएको रहेछ। यसले पर्यटकलाई थप सहज बनाएको छ।' ढुंगानाले यहाँ आएर झरनामा नुहाउन पाउँदा निकै आनन्द लाग्ने गरेको अनुभूति सुनाए।

झरनाको सुन्दरता र विशेषता सामाजिक सञ्जनलमा देखेर घुम्न आएको भरतपुरकी गरिमा थापाले बताए। ६ जनाको समूहमा पहिलोपटक यहाँ आएको भन्दै उनले यहाँ आइपुग्दा भरतपुरको गर्मी भुलेको बताए।

जलबिरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङका अनुसार यहाँ बढी चितवन, नवलपुर, तनहुँ, मकवानपुर, पर्सा, पोखरा, काठमाडौंलगायत सहरबाट पर्यटक आउने गरेका छन्। प्रायः शनिबार तथा सार्वजनिक बिदाको दिन धेरै पर्यटन यहाँ आउने उनले बताए।

शनिबार मात्रै पाँच सयभन्दा बढी पर्यटक यहाँ आउने गरेका गुरुङले जानकारी दिए। 'जलबिरे झरनामा असोजसम्म पर्यटकको उत्तिकै सङ्ख्या रहन्छ', उनले भने, 'वडा, गाउँपालिका र समितिमार्फत सरसफाइ व्यवस्थापन र रेखदेखको काम भइरहेको छ।' विसं २०६९ देखि जलबिरे झरनामा पर्यटन विकास सुरु भएको गुरुङले बताए। रासस


प्रकाशित : आइतबार, जेठ १३ २०८११५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend