शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ४० करोडको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ३१ २०८१
सेयर बजारमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ४० करोडको कारोबार

काठमाडौं- उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजारमा हरियाली देखिएको छ। यो साता पहिलो कारोबारमा आइतबार सामान्य वृद्धि देखिएको बजारमा दोस्रो कारोबारमा सोमबार दोहोरो अंकको वृद्धि देखिएको हो। 

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारमा अहिले हरियाली देखिएको छ। उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजार उल्लेख्य वृद्धितर्फ नगए पनि केही थामिँदै बढेको हो।

आइतबार ८.२६ अंकले बढेको बजार सोमबार २४.३९ अंकले बढेर १९९८.८९ बिन्दुमा पुगेको छ। १४८ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ। ८५ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर देखिएको छ। 

अहिलेको उतारचढावपूर्ण स्थितिमा आएको वृद्धि केही ठूला लगानीकर्ताको चलखेल हो या बजारले सुधारको बाटो समातेको हो भन्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। अहिलेको अवस्थामा अब ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले मात्र थप सुधारको अपेक्षा गर्न सकिने उनीहरूको भनाइ छ।

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहेको थियो। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।

सेयर बजारमा लामो समयदेखि कुनै दिन सामान्य वृद्धि र कुनै दिन ओरालो लाग्ने प्रक्रियाबीच उतारचढाव देखिँदै आएको छ।


प्रकाशित : सोमबार, वैशाख ३१ २०८११४:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend