शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सेयर बजारमा सामान्य वृद्धि, ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँको कारोबार

आइतबार, वैशाख ३० २०८१
सेयर बजारमा सामान्य वृद्धि, ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँको कारोबार

काठमाडौं- गएको साता अन्तिम कारोबारमा सुधारतर्फ लागेको सेयर बजारमा यो साता पहिलो कारोबारमा पनि सामान्य वृद्धि देखिएको छ। उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजार उल्लेख्य वृद्धितर्फ नगए पनि केही थामिँदै सामान्य वृद्धितर्फ देखिएको हो।

आइतबार ८.२६ अंकले बढेर बजार १९७४.५० बिन्दुमा पुगेको छ। १२७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ। १११ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लगानीकर्ताले विश्वासको आधार नभेटेको सेयर बजारमा सुधारको अपेक्षा सार्थक हुन सकिरहेको छैन। गएको साता पहिलो कारोबारमा आइतबार २४.५८ अंकले घटेको बजार सोमबार पनि १५.६२ अंकले घटेको थियो। यस्तै मंगलबार २.०६ अंकले बढेको बजार बुधबार ०.२१ अंकले घटेको थियो। बिहीबार भने बजार ५.६३ अंकले बढेको थियो। 

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहेको छ। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।

अहिलेको अवस्थामा अब ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले मात्र स्थायी सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्। सेयर बजारमा लामो समयदेखि कुनै दिन सामान्य वृद्धि र कुनै दिन ओरालो लाग्ने प्रक्रियाबीच उतारचढाव देखिँदै आएको छ।


प्रकाशित : आइतबार, वैशाख ३० २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend