आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

मनाङको छिम्बु र कोतो भिरलाई ‘रक क्लाइम्बिङ’ गन्तव्य बनाइने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २६ २०८१
मनाङको छिम्बु र कोतो भिरलाई ‘रक क्लाइम्बिङ’ गन्तव्य बनाइने

फ्रान्सेली नागरिकद्वय लुडोभिक ज्याम्वेसी र ल्याभिनले रक क्लाइम्बिङको विश्वव्यापी अवस्थाका साथै ती दुवै भीरको स्थलगत सम्भावनाबारे प्रकाश पारेका थिए।

गण्डकी- अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको चामे गाउँपालिकास्थित छिम्बु र कोतो भिरलाई चट्टान आरोहण (रक क्लाइम्बिङ) गन्तव्यका रुपमा विकास गरिने भएको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आर्थिक सहयोग, नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको संयोजन र  फ्रान्सेली नागरिकद्वय लुडोभिक ज्याम्वेसी र ल्याभिनको विशेष प्राविधिक सहयोगमा रक क्लाइम्बिङका लागि परीक्षण गरिएको हो।

आज पोखरामा आयोजित पत्रकार भेटघाटमा नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष शेषकान्त शर्माले यही बैशाख ९ गतेदेखि २१ गतेसम्म फ्रान्सेली नागरिकद्वयले रक क्लाइम्बिङ निर्माणका लागि गरेको प्राविधिक सहयोग एवं काममा स्थानीय पञ्चमाया तामाङ र लक्मी तामाङले सहयोग गरेको जानकारी दिए।

उनले यी दुुवै भिरमा रक क्लाइम्बिङ गराइ पर्यटकीय रुपमा उपयोग गर्न सकिने सम्भावना देखिएकाले हिमाल आरोहणको पूर्वाभ्यासका लागि उपयुक्त गन्तव्य बन्ने विश्वास व्यक्त गरे। गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले रक क्लाइम्बिङको नयाँ गन्तव्यको रुपमा यी दुई स्थान विकास गरिने बताए। 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोख्रेलले रक क्लाइम्बिङ सञ्चालन गर्न सके पर्यटकको बसाई लम्ब्याउन सहयोग पुुग्ने विश्वास व्यक्त गरे।

फ्रान्सेली नागरिकद्वय लुडोभिक ज्याम्वेसी र ल्याभिनले रक क्लाइम्बिङको विश्वव्यापी अवस्थाका साथै ती दुवै भीरको स्थलगत सम्भावनाबारे प्रकाश पारेका थिए।

कार्यक्रममा नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङ, सचिव मनशान्त घिमिरे, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठलगायतले नेपालमा रक क्लाइम्बिङको सम्भावनालगायतका विषयमा आ-आफ्ना धारणा राखे। रासस 


प्रकाशित : बुधबार, वैशाख २६ २०८११०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend