शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

ग्लोबल आईएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

मंगलबार, वैशाख १८ २०८१
ग्लोबल आईएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटसँगको यस लगानी सम्झौताबाट नेपालको कृषि, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकको विश्वास छ।

काठमाडौं- स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आईएमई बैंक लिमिटेडमा १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रूपैयाँ लगानी गर्ने भएको छ। 

यस सम्बन्धि सम्झौतामा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका छन्। 

उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गरिने बैंकले जनाएको छ।
बैंकका अनुसार यस लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सृजना गर्ने रहेको छ। 

स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटसँगको यस लगानी सम्झौताबाट नेपालको कृषि, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकको विश्वास छ।

नेपालस्थित स्विट्जरल्याण्डको दूतावासले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठूलो बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेको छ।

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आईएमई बैंकले आफ्ना ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार एक सयभन्दा बढी सेवा केन्द्रमार्फत ४६ लाख ग्राहकलाई सेवा दिइरहेको छ।

साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको जनाएको छ।


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend