शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

आइतबार वृद्धितर्फ लागेको सेयर बजार सोमबार स्थिर, २ अर्ब ९५ करोडको कारोबार

सोमबार, वैशाख १७ २०८१
आइतबार वृद्धितर्फ लागेको सेयर बजार सोमबार स्थिर, २ अर्ब ९५ करोडको कारोबार

काठमाडौं- उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजारमा यो साता पहिलो कारोबारमा आइतबार हरियाली देखिए पनि दोस्रो कारोबारमा सोमबार बजार स्थिर देखिएको छ। 

गएको साता ६.२१ र त्यसअघिको साता ५३.५४ अंकले घटेको बजार आइतबार १४.३३ अंकले बढेर वृद्धितर्फको संकेत देखिए पनि सोमबार भने उकालो यात्रातर्फ बजार बढ्न सकेन। 

सोमबार ०.०७ अंकले बढेर बजार १९८०.३४ बिन्दुमा पुगेको छ। ९९ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ। १२८ कम्पनीको सेयर मूल्य घटेको छ भने १७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको छ। गएको साता पनि पहिलो कारोबारमा हरियाली देखिए पनि त्यसपछिका कारोबार कमजोर देखिएको थियो। 

पछिल्लो समय देखिएको गिरावटले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्। 

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।

सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति र तरलता अभावसँगै बजार गिरावटतिर लाग्यो। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार घट्दो क्रममा नै बढी देखिन्छ। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहेको छ। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : सोमबार, वैशाख १७ २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend