शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

यो साता पनि सेयर बजारमा कमजोर कारोबार, पर्ख र हेरको सोचमा लगानीकर्ता

बिहीबार , वैशाख १३ २०८१
यो साता पनि सेयर बजारमा कमजोर कारोबार, पर्ख र हेरको सोचमा लगानीकर्ता

काठमाडौं- उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजारमा यो साता पनि उस्तै अवस्था देखिएको छ। यो साता पहिलो कारोबारमा हरियाली देखिए पनि त्यसपछिका कारोबार कमजोर देखिएको छ। 

यो साता पहिलो कारोबारमा आइतबार १२.२९ अंकले बढेको बजार सोमबार १५.४१ अंकले घटेको थियो। यो साता मंगलबार बन्द रहेको बजार बुधबार ०.१५ अंकले बढेर १९६९.१७ बिन्दुमा पुगेको थियो। 

बिहीबार ३.२४ अंकले घटेर बजार १९६५.९३ बिन्दुमा पुगेको छ। ८८ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ। १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको छ। गएको साता पनि सबै कारोबारमा ओरालो लाग्दै बजार ५३.५४ अंकले घटेको थियो। 

पछिल्लो समय देखिएको गिरावटले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्। 

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।

सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति र तरलता अभावसँगै बजार गिरावटतिर लाग्यो। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार घट्दो क्रममा नै बढी देखिन्छ। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिएको हो। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेका छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : बिहीबार , वैशाख १३ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend