बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

डोल्पामा हिउँ चितुवाको संख्या नेपालकै उच्च, दीगो व्यवस्थापनको चुनौती

images
आइतबार, वैशाख ९ २०८१
images
images
डोल्पामा हिउँ चितुवाको संख्या नेपालकै उच्च, दीगो व्यवस्थापनको चुनौती

विश्वमै दुर्लभ मानिएको हिउँ चितुवाको सङ्ख्या चिनसँग सिमा जोडिएको डोल्पामा वर्षैपिच्छे वृद्धि भएपछि यसको व्यवस्थापन तथा संरक्षणमा ध्यान दिनुपर्ने सरोकारवालाको माग छ।

images
images

सुर्खेत- डोल्पा र मुगु जिल्लामा फैलिएको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जसँगै अन्य सामुदायिक वन क्षेत्रमा गणना गर्दा डोल्पामा हिउँ चितुवाको संख्या नेपालकै उच्च भएपछि खुसीसँगै चुनौती थपिएको छ।

images
images

हिउँ चितुवाको संख्या एक सय २० पुगेपछि आगामी दिनमा दिगो, वैज्ञानिक, एकीकृत व्यवस्थापनको चुनौती बढेको हो। विश्वमै दुर्लभ मानिएको हिउँ चितुवाको सङ्ख्या चिनसँग सिमा जोडिएको डोल्पामा वर्षैपिच्छे वृद्धि भएपछि यसको व्यवस्थापन तथा संरक्षणमा ध्यान दिनुपर्ने सरोकारवालाको माग छ।

images
images

हिउँ चितुवाको नयाँ तथ्यांक सार्वजनिक गर्दा व्यवस्थापनको चिन्ता बढेको डिभिजन वन अधिकृत मुनबहादुर रावतले बताए। प्रदेश सरकारको मातहतका डिभिजन वन कार्यालय डोल्पाको अगुवाइमा सामुदायिक वन समूहभित्र हिउँ चितुवाको गणना गरिएको थियो।

images
images

पाँच महिना लगाएर गरिएको सर्वेक्षणबाट वन क्षेत्रमा मात्रै तीसवटा हिँउ चितुवा फेला पारिएको छ। सर्वेक्षणअनुसार निकुञ्ज क्षेत्र बाहिर पर्ने डोल्पोबुद्ध, काइके र छार्काताङ्सोङ् गाउँपालिकाको सामुदायिक वन क्षेत्रमा प्रतिएक सय वर्ग किमीमा हिँउ चितुवाको घनत्व १.५ रहेको छ।

हिँउ चितुवा एसियाका १२ वटा राष्ट्रमा मात्र पाइने गर्दछ। नेपालमा सबैभन्दा धेरै डोल्पामा हिउँ चितुवा रहेको शे- फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए।

चार वर्षअघि क्यामेरा ट्रयाप विधिबाट हिँउ चितुवाको गणना गर्दा शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ९० वटा फेला परेको थियो। पछिल्लो तथ्यांक अनुसार निकुञ्जमा प्रतिएक सय वर्ग किमी क्षेत्रफलमा हिँउ चितुवाको घनत्व २.२ रहेको छ।

हिँउ चितुवाको सङ्ख्या वृद्धि भएसँगै मावन वन्यजन्तु द्वन्द्व घटाउने उपाय अपनाउन सम्बन्धित निकायले जनचेतनामुलक र राहतका कार्यक्रम प्रभावकारी ढंगबाट लागु गर्नुपर्ने संरक्षणकर्मीको भनाइ छ।

हिँउ चितुवाको सङ्ख्या वृद्धिले पर्यापर्यटन र आयआर्जनमा टेवा पुग्ने जनाइएको छ। हिँउ चितुवा गणना गर्दा शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट गरिएको सर्वेक्षणमा ८० लाख र डिभिजन वन कार्यालयको तेतृत्वमा गरिएको सर्वेक्षणमा ४८ लाख रकम खर्च भएको विश्व वन्य जन्तु कोष (डब्लुडब्लुएफ)का अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले बताए।

दुवै निकायले गरेको सर्वेक्षणमा प्राविधिक तथा आर्थिक सहयोग डब्लुडब्लुएफले गरेको छ। डोल्पा देशकै सबैभन्दा ठूलो जिल्ला हो। डोल्पाको माथिल्लो भागमा हिमाली क्षेत्र छ भने तल्लो क्षेत्रमा मध्यम खालको हावापानी छ। 

निकुन्ज तथा सामुदायिक वन क्षेत्रमा हिउँ तथा विकट भूगोल भएकाले संरक्षणको काम चुनौतीपूर्ण छ। हिउँ चितुवा उच्च पहाडी पर्यावरणमा पाइने दुर्लभ र संरक्षित वन्यजन्तु हो। यसले पर्यावरणको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका गर्ने विज्ञ बताउँछन्।

ठूलो र दुर्गम भौगोलिक क्षेत्रको वासस्थानमा बस्ने भएकाले ठूला बिरालामध्ये विश्वव्यापी रूपमा कम अध्ययन गरिएका प्रजातिमा यो प्रजाति छ। नेपालमा हिउँचितुवाको बासस्थान ३० हजार वर्ग किलोमिटर मध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा बाहिर रहेको डब्लुडब्लुएफका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले जानकारी दिए। यी क्षेत्रहरू बासस्थान र करिडोर दुवैको रूपमा महत्वपूर्ण रहेको उनले बताए।

नेपालको तीन संरक्षित क्षेत्र (शे-फोक्सुण्डो, ढोरपाटन शिकार आरक्ष र अन्नपूर्ण संरक्षण क्षेत्र) र हिउँचितुवाको दुई भुपरिधि क्षेत्र (पश्चिम र मध्य) मा रहेका हिउँचितुवाको संख्या गणना गरिएको उनको भनाइ छ। सरकारले यस क्षेत्रमा हिउँ चितुवाको अध्ययन तथा अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेको हमालले जानकारी दिए।

२०८० बैशाखदेखि भदौ महिनासम्म गरिएको क्यामेरा ट्रयाप सर्वेक्षणले शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज बाहिरको पूर्वी डोल्पा क्षेत्रका हिउँचितुवाको संख्या पहिलोपटक यकिन गरेको हो। सर्वेक्षणले प्रतिएक सय वर्ग किलोमिटरमा हिउँ चितुवाको घनत्व १.५ रहेको अनुमान गरेको छ। यससँगै अध्ययन क्षेत्रभित्र ३० वटा हिउँ चितुवा भेटिएको छ।

चार वर्षअघि निकुञ्जभित्र गरिएको सर्वेक्षणमा प्रति एक सय वर्ग किलोमिटरमा चितुवाको घनत्व २.२ रहेको अनुमान गरेको थियो। ९० वटा हिउँचितुवा निकुञ्ज र संरक्षण क्षेत्रभित्र भेटिएको थियो।

हिँउ चितुवा विश्वमै एसियाका १२ राष्ट्रमा मात्र पाइन्छ। यसको कुल सङ्ख्या चार हजार देखि छ हजार पाँच सय मात्र रहेको अनुमान छ। हिँउ चितुवा धेरै पाइनेमा  नेपाल चौथो राष्ट्रमा पर्दछ। नेपालमा तीन सय देखि चार सयको संख्यामा हिउँ चितुवा रहेको तथ्यांकले देखाएको छ। हिँउ चितुवा अवलोकनको लागि डोल्पा विश्वकै एक प्रमुख गन्तव्य हुनसक्ने डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ।

वन कार्यालयका अनुसार पछिल्लो सर्वेक्षणले छार्का ताङ्सोङ, काइके र डोल्पो बुद्ध गाउँपालिकाका राष्ट्रिय निकुञ्ज बाहिरका क्षेत्र समेटेको थियो। हिमाली भुभागमा पर्ने करिब दुई हजार वर्ग किलोमिटर क्षेत्रफलमा ६० दिनसम्म यो अध्ययन गरिएको हो। अध्ययनमा ३३ जना वैज्ञानिक, डिभिजन वन कार्यालय डोल्पाका सात जना कर्मचारी, तीन विद्यार्थी र दुई जना डब्लुडब्लुएफ नेपालका वन्यजन्तु अनुसन्धानकर्ता सामेल थिए।

'विश्वव्यापी रूपमा हिउँ चितुवाको अनुसन्धान र संरक्षणका विभिन्न प्रयास भइराखेका छन्। यस सन्दर्भमा नेपाल सरकारलाई सहयोग गर्न अनि हिउँचितुवाको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायसँग साझेदारी गर्न पाउँदा हामी थप जिम्मेवार भएका छौँ', डब्लुडब्लूएफका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले भने।

हिउँचितुवाको संरक्षण र स्थानीय समुदायको विकासलाई समानान्तर रूपमा अघि बढाउन डब्लुडब्लूएफ नेपालले समुदायमा आधारित संरक्षणका प्रयास जारी राख्ने पनि डा.गुरूङले जानकारी दिए।

हिउँ चितुवाको संरक्षण गरि मानव-हिउँचितुवा द्वन्द्व घटाउन पशु बीमा तथा राहत व्यवस्था गरिएको छ। घरपालुवा पशुचौपायाको चरिचरन क्षेत्रलाई हिउँचितुवा संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन तथा जडीबुटी उत्पादन क्षेत्रको रुपमा विकास गर्नको लागि दीगो, वैज्ञानिक, एकीकृत व्यवस्थापन तर्फ साझा पहल  र अभ्यास गर्नका सबैले सकारात्मक भूमिका खेल्ने अपेक्षा लिइएको छ।

शे-फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। यो निकुञ्ज डोल्पा र मुगु जिल्लामा फैलिएको छ। शे-फोक्सुण्डोमा हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायतका हिमाली वन्यजन्तु पाइन्छन्।

यस निकुञ्जलाई डाँफे, मुनाल, चिरलगायत दुईसय प्रजातिका पक्षीहरू, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा धनी बनाएको छ। यहाँ पाइने हिउँ चितुवाको आहार बिहारबारे भएको वैज्ञानिक अनुसन्धानले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ।

निकुञ्जको मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल सन् २००७ मै रामसारमा सूचीकृत भएको छ। ११औँ शताब्दीमा निर्मित शे गुम्बा यहीँ छ। गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ। यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख ९ २०८११५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend