शनिबार, साउन १२ गते २०८१    
images
images
images

पर्यटनमा नयाँ गन्तव्य : पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

images
बिहीबार , वैशाख ६ २०८१
images
images
पर्यटनमा नयाँ गन्तव्य : पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

गत माघदेखि नेपालगञ्जबाट कैलाश पर्वत दर्शनका लागि सुरु गरेको पर्वतीय उडानमार्फत हालसम्म पाँच सयभन्दा बढी भारतीय नागरिकले कैलाश पर्वतको दर्शन गरिसकेका छन्।

images

काठमाडौं- दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन। नेपालगञ्जको सिद्धार्थ होटलमा अघिल्लो दिन नै आएका अधिकांश भारतीय पर्यटक नित्यकर्म सकेर तयार भइसकेका थिए। कैलाश पर्वत दर्शन गर्न जानुअघि उनीहरुले नजिकैको जय बागेश्वरी मन्दिरमा सामूहिक दर्शन गरे। त्यसपछि उनीहरु सवार बस विमानस्थलतर्फ लाग्यो।

images
images

विमानमार्फत आकाशबाटै तिब्बतमा रहेको कैलाश पर्वतको दर्शन गर्न जाँदै थिए। विमानमा चढ्दै गर्दा भारतीय पर्यटकको अनुहारमा साक्षात कैलाश पर्वत र मानसरोवर ताल आँखै अगाडि हेर्न पाउने उत्कट चाहना झल्कन्थ्यो।

images

हिन्दु धर्ममा कैलाश पर्वतलाई महादेवको घर मानिन्छ। महादेव बस्ने ठाउँ हेर्ने अभिलासाले तिर्थयात्रीहरुको अनुहार उज्यालिएको थियो। 'विमानले जसै ‘टेकअफ’ गरी उत्तरतर्फ उचाइ बढाउँदै गयो, यात्रीहरुको मनमा कौतुहलता बढ्दै गरेको प्रस्ट देखिन्थ्यो। झण्डै ३० मिनेटको उडानपछि विमान नेपाल-चीनको सीमा नजिकै पुग्यो', पर्वतीय उडानबाट फर्केपछि पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले भने।

विमानको झ्यालबाट एकोहोरो आँखा दौडाइरहेका यात्रुहरुले दुई हात जोडेर नमस्कार गरे। उनीहरुका आँखै अगाडि महादेवको घर अर्थात् कैलाश पर्वत विराजमान थियो। उनीहरु मानसरोवर ताल हेरेर आपसमा केही कुराकानी पनि गरे।

images

यत्तिकैमा विमानमा रहेका पण्डितले यात्रुहरुको ध्यानाकर्षण गराए। सबैलाई कैलाशतर्फ फर्किएर हात जोड्न लगाउँदै मन्त्रोचारण गर्दै विमानभित्रैबाट पूजा सुरु गरे। सामान्य पूजा सकाएपछि उनले कैलाश पर्वत र मानसरोवर तालको धार्मिक महत्व, आस्था र इतिहासबारे जानकारी गराउन थाले।

महादेवको बासस्थान आँखै अगाडि हेर्न पाउँदा हर्षविभोर उनीहरु पण्डितले बताएका हरेक विषयमा चासोपूर्ण सुनिरहेका थिए। विमानले तीन/चार फन्को लगाइसकेको थियो।

कैलाशलाई साक्षात दर्शन गर्न पाउँदाको खुसी यात्रुहरुहरुको आँखाबाट छल्किरहेको थियो। कोही आँखाभरी खुसीका आशु बगाउँदै एकोहोरो कैलाश हेरिरहेका थिए भने केहीले मौन मुद्रामा रुद्राक्षको माला घुमाउँदै जप सुरु गरिरहेका थिए।

सिद्धार्थ हस्पिटालिटी ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानेको परिकल्पना, पथिल होलिडेजको व्यवस्थापन र नयाँ दिल्लीस्थित ट्राभल कम्पनी ‘ट्रिप टु टेम्पल्स’सँगको समन्वयमा श्री एयरलाइन्सको विमानमार्फत पर्यटकलाई पर्वतीय उडान गराउँदै आइएको छ। यात्रीहरुको आवासीय प्रवन्ध सिद्धार्थ हस्पिटालिटीले गर्दै आएको छ।

बुधबार रामनमवीको दिन कैलाश दर्शनका लागि सात वटा माउन्टेन फ्लाइट (पर्वतीय उडान) भयो। जसमा आठ जना नेपाली र दुई सय ३४ भारतीय पर्यटकले कैलाश पर्वतको दर्शन गरेका थिए।

कैलाश पर्वत दर्शनपछि उनीहरुले नेपालगञ्ज फर्केर रुद्राभिषेक पूजा समेत गरेका थिए। पथिल होलिडेजले नयाँ गन्तव्यका रुपमा यो पर्वतीय उडानलाई स्थापित गर्न भारतीय बजारमा सक्दो बजारीकरण गरिरहेको न्यौपानेको भनाइ छ।

'हाम्रा लागि भारत ठूलो बजार हो, हामीले भरतका विभिन्न सहरबाट यहाँ ल्याएर माउण्टेन फ्लाइटमार्फत कैलाश पर्वतको दर्शन गराउँछौँ', न्यौपानेले भने, 'तिर्थयात्रीहरुलाई दुइतर्फी यातायात, खान, बस्न र हवाई उडानका लागि एउटै प्याकेजमा बनाएर यात्रा सहज बनाइरहेका छौँ।'

भारतको कलकत्ताबाट कैलाश दर्शन गर्न मंगलबार साँझपख नेपालगञ्ज आइपुगेकी सञ्चिता गाङ्गुलीले यो आफ्नो जीवनको महत्वपूर्ण पल भएको बताए। 'हामी यहाँ योजना बनाएर आएका थिएनौँ, सायद महादेवको ‘ब्लेसिङ’ थियो होला, हाम्रो यो पारिवारिक ‘ट्रिप’ निकै राम्रो भयो', उनले भनिन्

उनले बादल पनि नभएकाले कैलाश पर्वत र दुवै ताल स्पष्ट हेर्न पाएकोमा आफूलाई निकै भाग्यमानी ठानेको सुनाइन्। पछिल्ला केही वर्षयता भारतीयहरु भिसाको समस्याका कारण कैलाश मानसरोवर दर्शन गर्न जान पाएका छैनन्।

भिसा, समय तथा स्वास्थ्यको समस्या हुनेलाई पर्वतीय उडानमार्फतको कैलाश पर्वतको दर्शन सबैभन्दा उपयुक्त विकल्प भएको भारतको बैंगलोरबाट आएका ८० वर्षे विशाल कुँवरले बताए।

कैलाश पर्वत दर्शन गरेर आफू निकै धन्य भएको दिल्लीबाट आएका विनोद शर्माले सुनाए। उनले भने, 'जीवनमा यति सहज ढंगले कैलाश पर्वतको दर्शन गर्न पाउँछु भनेर कल्पना पनि गरेको थिइँन। म यो खुसीको बयान गर्न नि:शब्द छु।'

उनले आफ्नो ‘बकेट लिस्ट’को एउटा योजना पूरा भएको बताए। आफूहरु कैलाश दर्शन गरेर सिद्धार्थ होटलमा आइपुग्दा रुद्राक्षको माला र प्रसादले स्वागत गरेको पल बिर्सन नसक्ने भन्दै उनले भोले बाबाको आशीर्वाद पाएको महसुस भएको सुनाए।

गत माघदेखि नेपालगञ्जबाट कैलाश पर्वत दर्शनका लागि सुरु गरेको पर्वतीय उडानमार्फत हालसम्म पाँच सयभन्दा बढी भारतीय नागरिकले कैलाश पर्वतको दर्शन गरिसकेका छन्। साथै यही बैशाख १० गतेका लागि करिब दुई सय भारतीय नागरिकले बुकिङ गरिसकेको पथिल होलिडेजले बताएको छ। 

उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष टंक धामीले नेपालगञ्जमा नयाँ पर्यटकीय गन्तव्यका रुपमा माउन्टेन फ्लाइट भएका भन्दै यसमार्फत यहाँको पर्यटन चलायमान हुन सहज भएको उल्लेख गरे। उनले यसले पर्यटकको आगमन र त्यसबाट हुने आम्दानी बढाएको बताए। रासस


प्रकाशित : बिहीबार , वैशाख ६ २०८११५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend