शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

साताभर राताम्य सेयर बजार, बिहीबार १९ अंकले घट्दा दुई अर्ब नौ करोडको कारोबार

बिहीबार , वैशाख ६ २०८१
साताभर राताम्य सेयर बजार, बिहीबार १९ अंकले घट्दा दुई अर्ब नौ करोडको कारोबार

बिहीबार १९.५६ अंकले घटेर बजार १९७२.१४ बिन्दुमा ओर्लँदा दुई अर्ब नौ करोड ३६ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजारमा यो साताको अन्तिम कारोबारमा पनि गिरावट आएको छ। सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारले यो साता पनि वृद्धितर्फको लय समात्न नसकेको हो।

बिहीबार १९.५६ अंकले घटेर बजार १९७२.१४ बिन्दुमा ओर्लँदा दुई अर्ब नौ करोड ३६ लाख रूपैयाँको कारोबार भएको छ। २७ कम्पनीको सेयर मूल्य बढ्दा २ सय ११ कम्पनीको घटेको छ भने ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।

उतारचढावबीच घट्दो क्रममा नै देखिएको सेयर बजार सम्हालिएर अगाडि बढ्न नसक्दा साताभर नै बजारले गति लिन सकेन।

यो साता आइतबार २.३५ अंकले घटेर २०२३.३५ बिन्दुमा झरेको बजार सोमबार १६.८२ अंकले घटेर २००६.५२ बिन्दुमा आइपुगेको थियो। सोमबार ५२ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको थियो।

यस्तै मंगलबार १४.८१ अंकले घटेर बजार १९९१.७१ बिन्दुमा झरेको थियो। ४२ कम्पनीको सेयर मूल्य बढ्दा मंगलबार दुई अर्ब १० करोड ३० लाख रूपैयाँको कारोबार भएको थियो।

उतारचढावपूर्ण अवस्था देखिएको सेयर बजारमा वृद्धितर्फको संकेत अझै देखिएको छैन। अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्।

अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले पनि संगठित लगानीकर्ताहरू अगाडि नबढ्दा बजारले गति लिन नसकेको दाबी विश्लेषकहरूको छ। 


प्रकाशित : बिहीबार , वैशाख ६ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend