शनिबार, साउन १२ गते २०८१    
images
images
images

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी

images
बिहीबार , वैशाख ६ २०८१
images
images
पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी

घोडेपानीमा साना ठूला गरी २७ होटलमा एक दिनमा एक हजार जना बास बस्न सक्ने क्षमता रहेको छ।

images

म्याग्दी- गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको पहिचान गर्न अध्ययन थालेको छ।

images
images

हालै पर्यटकीय राजधानी घोषणा भएको पोखरामा पर्यटक आगमन बढाउन र बसाइ लम्बाउनका लागि नयाँ गन्तव्यको पहिचान तथा स्थापित गन्तव्यको प्रवर्द्धनका लागि स्थलगत अध्ययन गर्न मन्त्रालयको टोली अन्नपूर्ण गाउँपालिका-६ घोडेपानी आएको छ।

images

मन्त्रालयका उपसचिव रामप्रसाद आचार्यले सम्भावनायुक्त पर्यटकीय गन्तव्य पहिचान र स्थापित गन्तव्यको प्रवर्द्धनका लागि समस्या, आवश्यकता पहिचान गर्न मंगलबार र बुधबार स्थलगत अध्ययन गरिएको जानकारी दिए।

'पोखरा र आसपासका क्षेत्रमा पर्यटक आगमन बढाउने, बसाइ लम्ब्याउने तथा सेवाको गुणस्तरीयता कायम गर्न सम्भावनायुक्त पर्यटकीयस्थलमा पुगेर अध्ययन गर्न आएका हौँ', उनले भने, 'म्याग्दीको घोडेपानी-पुनहिल क्षेत्रलाई पोखराको सहायक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना देखेर सरोकारवालासँग छलफल गरेका छौँ।'

images

मन्त्रालयका सचिव कुमानसिंह गुरुङको नेतृत्वमा आएको टोलीले स्थानीय होटल व्यवसायी, जनप्रतिनिधि, पर्यटक, पर्यटन व्यवसायीसँग समस्या, सम्भावना र समाधानका लागि गर्नुपर्ने कामका बारेमा छलफल गरेको थियो।

सचिव गुरुङले पर्यटकीय क्षेत्रका सरोकारवालाको सुझावलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिने बताए। गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा पनि सुझावलाई समावेश गरिने उनको भनाइ छ।

अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुन र अन्नपूूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले सडकको पहुँच, पोखरादेखि घोडेपानीसम्म बस सेवा सञ्चालन, प्रचारप्रसारका कारण आन्तरिक पर्यटकको आगमन बढेको बताए।

घोडेपानीमा पर्यटकको बसाइ लम्ब्याउन गुराँस पार्क, घोडा र साइकल मार्ग निर्माण गरिएको जानकारी गराउँदै घोडेपानीको सङ्ग्राहलयलाई व्यवस्थित बनाउन सहयोगको अपेक्षा गरे। घोडेपानी पर्यटक प्रहरी चौकीका अनुसार विसं २०८० मा ३१ हजार चार सय ३९ पर्यटकले घोडेपानीको भ्रमण गरेका छन्।

समुद्र सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जंगल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन्। घोडेपानीमा साना ठूला गरी २७ होटलमा एक दिनमा एक हजार जना बास बस्न सक्ने क्षमता रहेको छ।

पुनहिलबाट धवलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ। सूर्योदयको दृष्यावलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विषेशता हो।

घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जंगल छ। हिजोआज गुराँस फुलेर ढकमक्क बनेको जंगलमा रमाउने पर्यटकको चहलपहल बढेको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताइन्। रासस


प्रकाशित : बिहीबार , वैशाख ६ २०८११३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend