काठमाडौं- उतारचढावपूर्ण अवस्था देखिएको सेयर बजारमा वृद्धितर्फको संकेत देखिएको छैन। लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारमा यो साताका दुई कारोबारमा पनि उस्तै देखिएको छ।
आइतबार २.३५ अंकले घटेर बजार २०२३.३५ बिन्दुमा झरेको बजार सोमबार १६.८२ अंकले घटेर २००६.५२ बिन्दुमा पुगेको छ। ५२ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ। पछिल्लो समय कारोबार रकम समेत घट्दै गएको देखिन्छ।
गएको साता पहिलो कारोबारमा आइतबार २२.७५ अंकले बढेको थियो। सोमबार बन्द रहेको बजारमा मंगलबारको कारोबार पनि ९.१९ अंकले बढेको थियो। बुधबार भने १०.७१ अंकले घटेर बजार २०२५.३० बिन्दुमा झरेको थियो।
सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार उतारचढावबीच घट्दो क्रममा नै देखिएको सेयर बजार सम्हालिएर अगाडि बढ्न सकेको छैन।
अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्।
अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले पनि संगठित लगानीकर्ताहरू अगाडि नबढ्दा बजारले गति लिन नसकेको दाबी विश्लेषकहरूको छ।