काठमाडौं- पछिल्लो समय नेपालले विद्युतीय सवारी प्रयोगमा क्रान्ति नै गरेको छ। सरकार र यस क्षेत्रमा काम गरिरहेकाहरूमा मात्रै होइन सामान्य नागरिकदेखि चियापसलसम्म विद्युतीय सवारीको चर्चा हुने गरेको छ।
आईसी इन्जिनयुक्त कार सञ्चालनका लागि पेट्रोल-डिजेलमा जति खर्चनु पर्छ विद्युतीय कारका लागि ज्यादै न्यून मूल्यको बिजुली भए पुग्छ। संसारले शून्य प्रदूषण सवारी अबको मोविलिटीका रुपमा स्वीकार गरिसक्यो। नेपालमा पनि जोडदाररुपमा विद्युतीय सवारीले लय लिँदै छ।
अहिलेसम्म कयौँ ब्रान्डका हजारौँ विद्युतीय सवारी नेपाली सडकमा गुड्न थालिसकेका छन्। विद्युतीय सवारीका लागि अत्यावश्यक पूर्वाधार भनेको चार्जिङ नेटवर्क र ईभीमैत्री सर्भिस सेन्टर हुन्। जति धेरै विद्युतीय सवारी बिक्री भयो त्यति नै मात्रामा चार्जिङ स्टेसन पनि थपिँदै जानु पर्छ।
अहिले धमाधाम निर्माण पनि भइरहेका छन्। अहिले त निजी क्षेत्र मात्रै होइन गाउँघरमा सहकारी र समुदाय समेत चार्जिङ स्टेसन निर्माणमा जुटेका छन्। भलै चार्जिङ स्टेसन मात्रै चलाएर लगानी उठ्ने स्थिती भने छैन। पछिल्लो समय जिआईजेडले ३५ सय माइक्रोहरूलाई सहुलित र सोही बराबरको चार्जिङ स्टेसनमा पनि सहयोग गर्दैछ। युएसएडले पनि नेपालमा दर्जनौ स्थानमा चार्जिङ हब नै निर्माण गर्दैछ।
अहिले विश्वभरी अल्ट्राफास्ट चार्जिङ स्टेसनको चर्चा भएर निर्माण भइरहेका छन्। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि अल्ट्राफास्ट चार्जिङतर्फ नेपाल पनि जानेगरी तयारी गरिरहेको बताउँछन्।
‘हामीले निजी क्षेत्र आउँदा पनि हुन्छ, एकसेकेन्ड चार्जले एक किलोमिटरको लागि चार्ज गर्न सक्ने खालको चार्जिङ स्टेसन राख्ने तयारी छ,’ कार्यकारी निर्देशक घिसिङले भने। अल्ट्राफास्ट चार्जिङले दुई मिनेटमै चार्ज हुनेछ। अल्ट्राफास्ट चार्जिङ जसलाई हाई पावर चार्जिङ वा एचपीसी पनि भनिन्छ।
यता साझा यतायातले एकैपटक २२ ठूला गाडी चार्ज गर्न सकिनेगरी ठूलो चार्जिङ हब खडा गरेको छ। यसैले पछिल्लो समय विद्युतीय सवारीका लागि पूर्वाधारहरू व्यापक खडा भइरहेका छन्। पूर्वदेखि पश्चिमसम्म तराईदेखि पहाडसम्म माइक्रो भ्यानहरू दौडन थालेका छन्। अब मिनीबसहरू पनि कम्पनीहरूले नेपालमा ल्याउन लागेका छन्। यसलाई लागि पहिलो सर्त नै चार्जिङ स्टेसन हुने गरेको छ।
हाल देशभरी ३८० वटा विद्युतीय सवारी चार्जिङ स्टेसन छन्। जसमध्ये ५१ वटा चार्जिङ स्टेसन विद्युत् प्राधिकरणले सञ्चालनमा ल्याएको हो। बाँकी ३२९ चार्जिङ स्टेसन निजी क्षेत्र एवं व्यक्तिगत लगानीमा सञ्चालनमा रहेको नेपाल विद्युत प्राधिकरणका सहायक प्रवन्धक सागर ज्ञवाली बताउँछन्। ३८० चार्जिङ स्टेसनले औसतमा दैनिक ८० हजार यूनिट विद्युत् खपत भइरहेको छ। प्राधिकरण अन्तर्गतका ५१ चार्जिङ स्टेसनले दैनिक २२ हजार यूनिट र निजी क्षेत्रका ३२९ चार्जिङ स्टेसनले ६० हजार यूनिटसम्म विद्युत खपत गर्छन्।
प्राधिकारणका अनुसार मासिक २४ लाख यूनिट विद्युत् चार्जिङ स्टेसनमार्फत खपत हुँदै आएको छ। विभिन्न दातृ निकाय तथा निजी लगानीमा ५०० वटा चार्जिङ स्टेसनहरू निकट भविष्यमै खडा हुँदैछन्।
नेपालमा विद्युतीय सवारीको बिक्री बढ्दै जाँदा सवारी आयातकर्ताहरूसँगै प्राधिकरणले समेत चार्जिङ स्टेसन बनाइरहेको छ।
त्यसैगरी टाटाका सवारी आयातकर्ता कम्पनी सिप्रदी ट्रेडिङ प्रालिले पनि विद्युतीय सवारीको इकोसिस्टम निर्माणलाई उच्च प्राथमिकता दिएको छ। विद्युत प्राधिकरणपछि दोस्रो तर निजी क्षेत्रबाट धेरै चार्जिङ स्टेसन बनाउनेमा सिप्रदी पहिलो नम्बरमा रहेको छ।
नेपालको बिवाइडी गाडी बिक्रेता साइमेक्स इंक प्रालिले पनि दर्जनौँ चार्जिङ स्टेसन तयार पारिसकेको छ। साथै एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स, हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल, निटाको बिक्रेता सीजी मोटर्सलगायत अन्य कम्पनीहरूले पनि चार्जिङ स्टेसन बनाउने र बढाउने काम गरिरहेका छन्।
विद्युतीय सवारी लिएर अलि लामो दुरीमा जाँदा ठाउँ ठाउँमा चार्ज गर्नुपर्छ। त्यसका लागि डीसी फास्ट चार्जको जरुरत हुन्छ। एसी चार्जरबाट चार्ज गर्दा समय लाग्ने भएकाले सवारी उत्पादक कम्पनीहरूले डीसी फास्ट चार्जरको विकास गरेका हुन्।
त्यसैले राजमार्गलगायत विभिन्न ठाउँमा राखिएका सबै डीसी फास्ट चार्जर हुन्। पछिल्लो समय एसी फास्ट चार्जरको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। एसी फास्ट चार्जरबाट पनि कार छिट्टै चार्ज गर्न सकिन्छ।
नेपालमा अहिले मुख्यगरी सीसीएसटू, जीबीटी र चाडेमो चार्जिङ सिस्टम प्रचलनमा रहेका छन्। बिक्री भएका अधिकांश विद्युतीय कार सीसीएसटू चार्जिङ सिस्टममा आधारित छन्।
त्यसैले सीसीएसटू चार्जिङ सिस्टमयुक्त कार चलाउने र आफ्नै कम्पनीको र नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेसनमा चार्ज गर्न सक्छन्। चाडेमो चार्जिङ सिस्टम निसानको लिफ र कियाको सोल ईभीमा प्रयोग भएका छ भने चीनबाट आएका विद्युतीय भ्यानहरू जीबीटी चार्जिङ सिस्टममा आधारित छन्।