शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

कर्जा ग्राहकका लागि एनआईसी एसिया बैंकले ल्यायो छुटसम्बन्धी योजना

आइतबार, चैत २५ २०८०
कर्जा ग्राहकका लागि एनआईसी एसिया बैंकले ल्यायो छुटसम्बन्धी योजना

कमसल कर्जामा १० प्रतिशत, शंकास्पद कर्जामा १५ प्रतिशत र खराब कर्जामा २० प्रतिशत छुट हुने बैंकले जनाएको छ।

काठमाडौं- एनआईसी एसिया बैंकले आफ्ना ऋणीहरुका लागि विशेष छुटको योजना सार्वजनिक गरेको छ।

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले बैंकले सो योजना ल्याएको हो।

२०८० पुस मसान्तमा प्रचलित नियमनकारी व्यवस्थाअनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले आफ्नो २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्णरुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्तभित्र पूर्णरुपमा चुक्ता भुक्तान गरेमा २०८० चैत्र मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको हो।

कमसल कर्जामा १० प्रतिशत, शंकास्पद कर्जामा १५ प्रतिशत र खराब कर्जामा २० प्रतिशत छुट हुने बैंकले जनाएको छ।

बैंकका अनुसार मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालु पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनाको लाभ लिन सक्नेछन्।

राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ-आफ्नो हिसाबले योगदान पुर्‍याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको बैंकका
प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकको विश्वास छ।

एनआईसी एसिया बैंकले मुलुकभर रहेका ३ सय ६० शाखा कार्यालयहरू, ६ सय ७० एटीएम, १ सय १७ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिइरहेको छ।


प्रकाशित : आइतबार, चैत २५ २०८०११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend