शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप ३ खर्ब ६० अर्ब पुग्यो, एक वर्षमा ३ अर्ब ७२ करोड खुद नाफा आर्जन

बुधबार, चैत २१ २०८०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप ३ खर्ब ६० अर्ब पुग्यो, एक वर्षमा ३ अर्ब ७२ करोड खुद नाफा आर्जन

आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रूपैयाँ कायम रहेको छ।

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ७२ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ।

आर्थिक वर्ष २०७८/०७९ मा साविक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको गरी कुल निक्षेप ३ खर्ब ४३ अर्ब रूपैयाँ रहेकोमा १६ अर्ब ९७ करोड रूपैयाँले वृद्धि भइ आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको निक्षेप ३ खर्ब ६० अर्ब रूपैयाँ पुगेको बैंकले जनाएको छ।

त्यसैगरी आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रूपैयाँ कायम रहेको छ। बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यमा साविक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको गरी कुल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रूपैयाँ रहेको थियो।

नेपाल राष्ट्र बैंकले बैंकहरुको संख्या घटाउन लिएको मर्जर नीतिलाई समर्थन गर्दै आर्थिक वर्ष २०७९/८० मा यी दुई बैंक गाभिएर ०७९ को पुस २७ देखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सञ्चालन सुरु भएको थियो। मर्जरपश्चात यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १३ करोड रूपैयाँ र कुल सेयरधनी कोष ५५ अर्ब ६० करोड रूपैयाँ पुगेको छ।

हाल बैंकले २ सय ७० शाखा, २ सय ६७ एटीएम, १६ राजस्व संकलन काउन्टरसहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङमार्फत ३२ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको छ।

गुणस्तरीय सेवा तथा सुविधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तराष्ट्रिय प्रकाशन युरोमनीबाट 'बेस्ट बैंक २०२३' को उपाधिसमेत प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ।

बैंकका अनुसार सञ्चालकहरुको निर्वाचन हाललाई स्थगित गरिएको छ भने हालै सम्पन्न आर्थिक वर्ष २०७९/८० को ३७ औँ वार्षिक साधारण सभामा प्रस्तुत भएका अन्य सम्पूर्ण एजेण्डाहरु सभाद्वारा स्वीकृत भएका छन्। 


प्रकाशित : बुधबार, चैत २१ २०८०११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend