शनिबार, साउन १२ गते २०८१    
images
images
images

पर्यटकीय राजधानी भित्रने पर्यटककै छैन तथ्यांक

images
मंगलबार, चैत २० २०८०
images
images
पर्यटकीय राजधानी भित्रने पर्यटककै छैन तथ्यांक

प्राचीन संस्कृति, कला र सभ्यताका दृष्टिले पनि पोखरा र सिंगो गण्डकी प्रदेश अगाडि छ। यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ। परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन्।

images

गण्डकी- पर्यटकीय राजधानी पोखरा भित्रने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन। नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आकलन गरिए पनि वास्तविक तथ्यांक कुनै निकायसँग पनि छैन।

images
images

पर्यटकको विवरण राख्ने संरचना र प्रणाली नहुँदा पोखरा आउने पर्यटकको सङ्ख्या यकिन हुन नसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

images

'बर्सेनि पर्यटकको आवागमन वृद्धि हुँदै आएको छ तर हामी पहिलेकै अनुमानका भरमा छौँ', उनले भने, 'दैनिक, मासिक या वर्षमा कति विदेशी पर्यटक पोखरा प्रवेश गरे भन्ने आधिकारिक तथ्यांक अहिलेसम्म कसैले राख्न सकेको छैन।'

पर्यटकको स्पष्ट तथ्यांक राख्न सकिएमा पर्यटनसम्बन्धी योजना तथा कार्यक्रम निर्माणमा सहजता हुने उनको भनाइ छ। यस सम्बन्धमा नेपाल पर्यटन बोर्डलगायत राज्यका निकायसँग पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको अध्यक्ष श्रेष्ठले बताए।

images

'पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा अब पर्यटकको तथ्यांक संकलनका लागि तुरुन्त आवश्यक व्यवस्था गर्नुपर्छ', उनले भने, 'विमानस्थल र सडक नाकामा सूचना केन्द्रसहितका पर्यटक डेस्क राख्नुपर्छ।'

अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पोखरा भित्रने नाकामा पर्यटक डेस्क स्थापनाका लागि चासो लिए पनि कार्यान्वयन हुन नसकेको बताए। हवाई यात्राबाट आउने पर्यटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भएर पोखरा भित्रन्छन्। स्थलमार्गबाट भित्रने पर्यटक पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र मध्यपहाडी लोकमार्ग हुँदै पोखरा आइपुग्छन्।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेलले पर्यटकीय राजधानी आउने पर्यटकको यथार्थ विवरण राख्न नसक्नु कमजोरी रहेको बताए। बोर्डको पहलमा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकको तथ्यांक लिन आवश्यक तयारी गरिएको उनको भनाइ छ।

'माइक्रोलगायत अन्य निजी सवारीसाधनबाट पर्यटक आइरहेका हुन्छन्, पोखरा जोडिने सडक नाका पनि धेरै छन्', उनले भने, 'पोखरामा रहेका पर्यटकस्तरीय होटलले सफ्टवेयर प्रणालीमार्फत पर्यटकको विवरण राख्न सकेमा मोटामोटी तथ्यांक आउँछ।'

होटल व्यवसायीलाई दैनिक बास बसेका पर्यटकको विवरण दिन आग्रह गरिए पनि व्यवसायीले उपलब्ध नगराएको उनको भनाइ छ। तथ्यांक अन्दाज गर्ने विषय नभएको भन्दै उनले सम्बद्ध सबै पक्ष यसमा जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रबिन कडरियाले ‘एक्याप’ प्रवेश गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरिएको बताए। उनका अनुसार पोखरा आएकामध्ये झन्डै आधा पर्यटक मात्र ‘एक्याप’ को भ्रमण गर्छन्। 'यस क्षेत्रमा सबैभन्दा बढी भारतीय पर्यटकीय आउँछन्, अन्नपूर्ण क्षेत्र पदयात्राका लागि विश्वमै आकर्षक गन्तव्य मानिन्छ', उनले भने, 'एक्यापले ठाउँठाउँमा चेकपोष्ट र पर्यटक सूचना केन्द्रमार्फत विदेशी पर्यटकको विवरण संकलन गर्छ।'

पर्यटकीय राजधानी पोखरा भित्रने पर्यटकको सङ्ख्यालाई तथ्यांक प्रणालीमा राख्न अब ढिलाइ गर्न नहुने डा कडरियाले बताए। पछिल्लो समय पोखरा आसपासका गन्तव्यमा भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको उनको भनाइ छ। प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदिले यस क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको कडरियाले बताए।

प्राचीन संस्कृति, कला र सभ्यताका दृष्टिले पनि पोखरा र सिंगो गण्डकी प्रदेश अगाडि छ। यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ। परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन्।

आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्तरीय आतिथ्यता र सेवासुविधालाई आधार मानेर पोखरालाई हालै पर्यटकीय राजधानी घोषणा गरिएको थियो। फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा बामे सरेको पोखरा अहिले विश्व पर्यटन बजारको ‘ब्रान्ड’ बनेको छ। रासस


प्रकाशित : मंगलबार, चैत २० २०८०१५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend