शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजारमा देखिएन उत्साह, साताको दोस्रो कारोबार पनि ओरालोतिरै

सोमबार, चैत १९ २०८०
सेयर बजारमा देखिएन उत्साह, साताको दोस्रो कारोबार पनि ओरालोतिरै

सोमबार ८६ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा दुई अर्ब ८७ करोड ७४ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- सम्हालिएर उकालो लाग्ने अपेक्षा गरिएको सेयर बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा यो साताको दोस्रो कारोबार पनि ओरालोतिरै लागेको छ। आइतबार दोहोरो अंकले घटेको बजार सोमबार पनि बढ्न सकेन।

सोमबार ६.२६ अंकले घटेर बजार २०१२.०७ बिन्दुमा पुगेको छ। ८६ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा दुई अर्ब ८७ करोड ७४ लाख रूपैयाँको कारोबार भएको छ। १ सय ५१ कम्पनीको सेयर मूल्य घट्दा ७ कम्पनीको मूल्यमा भने परिवर्तन भएन।

सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार घटिरहेको सेयर बजारमा यो साता पहिलो कारोबार दिन आइतबार १७.३० अंकको गिरावट आएको थियो। २०१८.३३ बिन्दुमा बजार पुग्दा तीन अर्ब २० करोडभन्दा बढीको कारोबार भएको थियो। सोमबार भने कारोबार रकममा समेत गिरावट आएको छ।

लगानीकर्ताहरूले अहिलेको अवस्थामा बजार वृद्धितर्फ नै लागेर पुन: २२०० को बिन्दुतर्फ लाग्ने अपेक्षामा थिए तर बजारले वृद्धितर्फको गति समात्न सकेको छैन। अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्।

थप नीतिगत सहजता हुने आशमा संगठित लगानीकर्ताहरू रहेको भए पनि बजारको अवस्थाले साथ दिइरहेको देखिँदैन।

अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले पनि संगठित लगानीकर्ताहरू अगाडि नबढ्दा बजारले गति लिन नसकेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : सोमबार, चैत १९ २०८०१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend