आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

घुम्नैपर्ने शैलुङका सय थुम्का

शनिबार, चैत १७ २०८०
घुम्नैपर्ने शैलुङका सय थुम्का

शैलुङ डाँडामा एकसय वटा मनमोहक थुम्का छन्। ती प्रत्येक थुम्काबाट पर्यटकले आकर्षक दृश्यावलोकन गर्न पाउँछन्।

दोलखा- दोलखाको शैलुङस्थित ‘सय थुम्का’ देशकै रमणीय पर्यटकीयस्थलका रूपमा परिचित छ। समुन्द्री सतहबाट करिब तीन हजार चार सय मिटर उचाइमा अवस्थित ‘सय थुम्का’ जिल्लाको दक्षिण, पश्चिममा पर्छ।

शैलुङ डाँडा प्रकृतिका हिसाबले मात्रै सुन्दर नभई धार्मिकस्थलका रूपमा पनि प्रसिद्ध छ। यहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बाह्रवर्षे मेलाजस्ता चाडपर्वमा दर्शनार्थीको भीड लाग्ने गर्दछ। 

शैलुङ डाँडामा एकसय वटा मनमोहक थुम्का छन्। तिनै थुम्काथुम्कीलाई सय थुम्की भनेर पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको हो। ती प्रत्येक थुम्काबाट पर्यटकले आकर्षक दृश्यावलोकन गर्न पाउँछन्। शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो।

स्थानीयका अनुसार तामाङ भाषामा ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का भन्ने बुझिन्छ। शैलुङ डाँडाबाट मनमोहक गौरीशंकर, सगरमाथा, माछापुच्छ्रे, गणेश हिमाललगायतका हिमाल र काठमाडौं उपत्यकासँगै तराईका केही भाग देखिन्छ। यिनै सुन्दर दृश्यावलोकन गर्ने ठाउँका रुपमा सय थुम्का पर्यटकीय गन्तव्य बनेको स्थानीय सोभित उप्रेतीले बताए। धेरै आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा हिजोआज सय थुम्का पर्न थालेको उप्रेतीको भनाइ छ।

यहाँ १२ वर्षमा एकपटक खुल्ने शैलुंगेश्वर महादेवको मन्दिर, गोदावरीजस्ता धार्मिकरूपले चर्चित गुफा छन्। चारैतिर देखिने मनोरम हिमशिखरहरू, वनैभरि नाच्ने डाँफेमुनाल, चौँरी र विभिन्न जातजातिका चराचुरुंगी एवं जंगली जनावरले शैलुङका डाँडाकाँडामा जोकोही रमाउन सक्छन्।

सय थुम्कामा हिउँदका बेला सेताम्मे हिउँ पर्ने भएकाले हिउँ खेल्नेको भीड लाग्ने गर्दछ। हिउँ खेल्नकै लागि टाढाटाढाका पर्यटकसमेत आउँछन्। उनीहरु हिउँमा खेल्ने र सेताम्मे शैलुङको दृश्यसँगै प्राकृतिक स्वाद लिने गर्दछन्।

शैलुङको कोसेली के?

शैलुङको अर्को महत्वपूर्ण विशेषता भनेको यहाँको चौँरीको दूधका परिकार हुन्। यहाँका प्रायः सबै स्थानीयले चौँरीपालन गर्छन्। चौँरीको दूधबाट उनीहरूले मीठो छुर्पी, चिज उत्पादन गर्छन्। ती उत्पादन विभिन्न ठाउँमा लगेर बिक्री गरिन्छ। यहाँको चर्चित मुडेको आलु बिक्री केन्द्र मुडे भए पनि उत्पादित क्षेत्र शैलुङ हो। स्थानीयले भेडाबाख्रा पाल्ने गरेका छन्।

शैलुङमा व्यावसायिक तरकारीखेती गरिन्छ। लेकको चिसो हावापानीमा उत्पादित आलु, काउली, बन्दा, केराउ, मटरकोसा गाडीमा काठमाडौं लगेर बिक्री गरिन्छ। बारीबाटै अर्गानिक कोसेलीका रुपमा आफन्तलाई तरकारी लैजाने चलन छ। घुम्न आउने पर्यटकले काउली र बन्दाको गुन्द्रुक कोसेलीका रुपमा लैजाने गर्छन्।

ग्रेटवालाको झल्को 

शैलङडाँडा पुग्न नपाउँदै दोलखाको कालापानीबाट चीनको ग्रेटवालको झल्को दिने ढुंगाको सिँढीसहितको पर्खाल बनाइएको छ। यो सिंढीबाट शैलुङका थुम्कामा जान सहज हुने स्थानीयको भनाइ छ। सिँढी नहुँदा विगतमा पर्यटकले बाटो भुल्ने गरेका थिए। बाटो भुल्दा निकै कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो। तर अहिले त्यो बाध्यता छैन।  

कसरी पुग्ने शैलुङ सय थुम्का?

शैलुङ क्षेत्र पुग्न काठमाडौंबाट मुडेसम्म पुगेपछि चरिकोटतर्फका लागि दायाँबाट बाघखोरतर्फ जानुपर्छ। लामोसाँघु जिरी सडक खण्डअन्तर्गत तामाकोसी बजार हुँदै चर्णावतिधाम पुगेर फस्कु हुँदै पनि शैलुङ डाँडामा पुग्न सकिन्छ। रामेछापको दोरम्बाबाट शैलुङ पुग्ने अर्को बाटो छ। सबैभन्दा सजिलो र सहज यात्रा भने काठमाडौंबाट दोलखा जाने बाटोमा पर्ने मुडेबाट चरिकोट जाने सडक छोडेर दायाँको सडक भएर जान सकिन्छ। करिब एक सय ३० किलोमिटर सडक पार गरेपछि  शैलङको सय थुम्का पुग्न सकिन्छ। यहाँ बास बस्नका लागि पर्यटक लक्षित होटल प्रशस्त खुलेका छन्।

यहाँ पाइने जडीबुटी

शैलुङका सय थुम्कामा विभिन्न किसिमका खानी हुनसक्ने स्थानीयको अनुमान छ। तर हालसम्म कुनै अनुसन्धान र उत्खनन भएको छैन। यहाँ बहुमूल्य जंगली जडीबुटीका रुपमा पाइने पाँचऔँले, चिराइतो, मझिठो, च्यातुलगायत प्रशस्तमात्रामा पाइन्छ। 

पर्यटक सुरक्षा

सय थुम्का क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक बढ्न थालेपछि स्थानीयको अगुवाइमा प्रहरी चौकी माग गरिएको छ। जिल्ला प्रशासन कार्यलय दोलखाले प्रहरी चौकीका माग भए पनि निर्णय भइनसकेको जनाएको छ। यहाँ घुम्न आउने पर्यटकलाई स्थानीयले सहज वातावरणमा डुल्न घुम्नका लागि सहजीकरण गर्ने गरेका छन्। रासस


प्रकाशित : शनिबार, चैत १७ २०८०१७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend