शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

अब ७५३ स्थानीय तह नै बैंकिङ पहुँचमा पुग्ने, साइपालमा एभरेष्ट बैंकले शाखा खोल्दै

शुक्रबार, चैत १६ २०८०
अब ७५३ स्थानीय तह नै बैंकिङ पहुँचमा पुग्ने, साइपालमा एभरेष्ट बैंकले शाखा खोल्दै

काठमाडौं- अहिलेसम्म वाणिज्य बैंकको शाखा नपुगेको बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा खोल्ने भएको छ। यो शाखा खुलेसँगै देशभरका ७ सय ५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुग्ने छ। 

स्थानीय तह स्थापना भएको सात वर्षसम्म पनि बैंक स्थापना नभएको भन्दै गुनासो आइरहँदा नेपाल राष्ट्र बैंकको टोलीले बैंक स्थापना गर्ने अवस्थाबारे अध्ययनसमेत गरेको थियो। 

राष्ट्र बैंकको टोलीले स्थानीय तहका प्रतिनिधिसँग गरेको छलफलसँगै त्यहाँ बैंकको शाखा राख्न सकिने/नसकिने बारेमा अध्ययन गरेको थियो। अब एभरेष्ट बैंकले साइपालमा शाखा खोल्ने तयारी अघि बढाएको हो।

बैंकिङ सेवा नहुँदा सेवाकै लागि साइपाल गाउँपालिकाले सम्पर्क कार्यालयसमेत बझाङको सदरमुकाम चैनपुरमा खोलेर काम गरिरहेको छ।

साइपाल गाउँपालिका चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटसँग जोडिएको गाउँपालिका हो। विकट रहेकै कारणले बैंकको शाखा विस्तारमा समय लागिरहेको छ। 

नेपाल राष्ट्र बैंकले २०७४ देखि नै सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार गर्न निर्देशन दिँदै आएको हो। जसमा साइपालका लागि एभरेष्ट बैंकलाई तोकिएको थियो।

२० वाणिज्य बैंकले शाखा विस्तारका लागि स्थानीय तहको बाँडफाँट गरेर अरू बैंकले तोकिएको लक्ष्य पूरा गरे पनि एभरेस्ट बैंकले भने लक्ष्य पूरा गर्न बाँकी थियो। अब भने सबै बैंकको लक्ष्य पूरा हुने भएको छ। 


प्रकाशित : शुक्रबार, चैत १६ २०८०१०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend