शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

मंगलबार दोहोरो अंकले बढेको सेयर बजारमा बुधबार दोहोरो अंककै गिरावट

बुधबार, चैत १४ २०८०
मंगलबार दोहोरो अंकले बढेको सेयर बजारमा बुधबार दोहोरो अंककै गिरावट

सरकारको साथ मिल्ने आशमा हौसिएका लगानीकर्ताहरू अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै लाग्ने देखिएको छ।

काठमाडौं- निरन्तरको उतारचढावबीच मंगलबार बढेको सेयर बजार बुधबार पुन: ओरालो लागेको छ। 

लगानीकर्ता विश्वस्त हुन नसक्दा सम्हालिएर उकालो लाग्ने अपेक्षाविपरीत घट्दो क्रम नै बढी देखिएको बजारमा यो साताको पहिलो कारोबारमा गिरावट आए पनि दोस्रो कारोबारमा भने सामान्य सुधार देखिएको थियो।

साताको पहिलो कारोबारमा १७ अंकले घटेर २०३१.५५ बिन्दुमा झरेको बजार दोस्रो कारोबारमा मंगलबार १०.१४ अंकले बढेर २०४१.७० बिन्दुमा पुग्दा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार रुपैयाँको कारोबार भएको थियो।

तर मंगलबारको वृद्धि बुधबार टिक्न सकेन। बुधबार बजार १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा पुगेको छ। ५१ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा दुई अर्ब २३ करोड ५४ लाख रूपैयाँको कारोबार भएको छ। १ सय ८८ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको सेयर मूल्यमा भने कुनै फेरबदल भएन। 

सत्ता गठबन्धनमा फेरबदल देखिएसँगै एकाएक उचालिएको सेयर बजारमा पुन: उतारचढाव भइरहेको हो।

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्। सरकारी निकायको साथ मिल्ने आशमा हौसिएका लगानीकर्ताहरू अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै लाग्ने देखिएको छ।

लगानीकर्ताहरूले अहिलेको अवस्थामा बजार वृद्धितर्फ नै लागेर पुन: २२०० को बिन्दुतर्फ लाग्ने अपेक्षामा थिए तर बजारले वृद्धितर्फको गति समात्न सकेको छैन। थप नीतिगत सहजता हुने आशमा संगठित लगानीकर्ताहरू रहेको भए पनि बजारको अवस्थाले साथ दिइरहेको देखिँदैन।


प्रकाशित : बुधबार, चैत १४ २०८०१५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend