आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

प्रचारप्रसारपछि पुरन्धरा झरनामा बढ्न थाले पर्यटक, दैनिक सयौँ पुग्छन् घुम्न

images
images
images
प्रचारप्रसारपछि पुरन्धरा झरनामा बढ्न थाले पर्यटक, दैनिक सयौँ पुग्छन् घुम्न

झरना वरपर कुनै बस्ती छैन। स्थानीयबासी गाईबस्तु चराउन, घाँस दाउरा काट्न आसपासमा गोठ बनाएर बस्थे। अहिले पर्यटकीयस्थल बनेको छ।

images
images

दाङ- बबई नदीबाट करिब १० मिटर पूर्वमा छ पुरन्धरा झरना। बबई गाउँपालिका-५ मा पर्ने यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। ४५ फिट उचाइबाट झर्ने झरनाको पानी बबई नदीमै मिसिन्छ। झरनाको मनमोहक दृश्यले गर्दा आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकास हुन थालेको हो।

images
images
images

पहिले यस झरनाबारे कुनै चासो थिएन। हाल आएर सामाजिक सञ्जालबाट प्रचार हुन थालेपछि दैनिक पर्यटकको भीड लाग्न थालेको छ। झरनामा पुग्ने जो कोही एकैपटकमा झरनाको आकर्षणबाट मोहित हुने स्थानीयको भनाइ छ।

images

बढ्दो गर्मीयामसँगै झरनाको फेदीमा सेल्फी खिच्ने र पौडी खेल्नेको सङ्ख्या बढेको छ। दाङ र अन्य छिमेकी जिल्लाबाट आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने गरेको झरनामा पार्किङ व्यवस्थापनका लागि बबई गाउँपालिकाले खटाएको कर्मचारी कुलबहादुर बुढाले जानकारी दिए। बुढाका अनुसार दैनिक तीनदेखि चार सयसम्म आन्तरिक पर्यटक झरना अवलोकन तथा वनभोज खान आउने गर्छन्।

images

बिदाको दिन झरनाको अवलोकन गर्न आउनेको सङ्ख्या बढी हुने गर्छ। उनका अनुसार झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क लिने नगरे पनि सवारीसाधनबाट पार्किङ शुल्क लिने गरिएको छ। मोटरसाइलको ३० रूपैयाँ, कार तथा जिपको दुईसय रूपैयाँ र बसको शुल्क दुईसय ५० रूपैयाँ निर्धारण गरिएको छ।

images
images

पहिले झरनामा कर्मचारीको व्यवस्था थिएन। अहिले झरनाको संरक्षण तथा पर्यटकको सुविधा तथा सुरक्षाका लागि कर्मचारीको व्यवस्था गरिएको छ। सवारी पार्किङ शुल्कको आम्दानीले कर्मचारी व्यवस्थापन र पूर्वाधार निर्माणमा सहयोग पुगेको छ।

झरनाको अवलोकन गर्न तुलसीपुरबाट पहिलोपटक आएका  २५ वर्षीय श्याम चौधरीले झरना आकर्षक भएको बताए। 'यति राम्रो झरना होला भनेर  सोचेको पनि थिइन', उनले भने, 'यसलाई अझै व्यवस्थित रूपमा संरक्षण गरी वरपरको वातावरण सफा राख्नुपर्छ।'

अर्का आन्तरिक पर्यटक तुलसीपुर उपमहानगरपालिका-६ रजौराकी राधा रजौरेले झरना संरक्षण तथा संवर्द्धन गरी भौतिक पूर्वाधार निर्माण गर्न सके पश्चिम दाङको मुहार फेरिने बताइन्। दंगीशरण गाउँपालिका-३ का ओमभक्त चौधरीले दश वर्षअघि पञ्चकुलेबाट ६ घण्टा पैदल हिँडेर झरना हेर्न आएकामा अहिले गाडी चढेर आउन पाउँदा खुसी लागेको बताए।

तुलसीपुर, हापुरे, सुर्खेत खण्डको टवाङ खोलाबाट आठ किमी दक्षिणपश्चिममा पर्ने सो झरनासम्म पुग्ने बाटो पक्की बनाउन सके बाह्रै महिना पर्यटक ल्याउन सकिने स्थानीयको भनाइ छ। झरना वरपर कुनै बस्ती छैन। सयौँ वर्षको इतिहास बोकेको सो झरना क्षेत्रमा पहिले घनघोर जंगल र जंगलको बीचमा सानो बाटो थियो। स्थानीयबासी गाईबस्तु चराउन, घाँस दाउरा काट्न झरना आसपासमा गोठ बनाएर बस्थे। गोठमा बस्नेले झरना रहेको पत्ता लगाएका थिए।

झरनादेखि एक सय मिटरको दुरीमा सिद्धेश्वर महादेवको मन्दिर छ। त्यस मन्दिरमा शिवरात्रिमा ठूलो मेला लाग्ने गर्दछ। झरनासँगै जोडेर पर्यटकका लागि बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, जंगली जनावर, चराचुरुंगी र जीवजन्तु अवलोकन गराउन सके आन्तरिक तथा बाह्य पर्यटक थप आकर्षित गराउन सकिने यहाँ आइपुगेका पर्यटक बताउँछन्।

बबई गाउँपालिकाका अध्यक्ष कुलप्रसाद केसीले झरनाको विकासका लागि गुरुयोजना बनाइ पूर्वाधार निर्माणको काम थालिएको बताए। उनले झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनाउन पहल भइरहेको बताए। रासस

images

प्रकाशित : बुधबार, चैत १४ २०८००१:०५

प्रतिक्रिया दिनुहोस