शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सर्वोत्तम सिमेन्टका लगानीकर्ताले पाँच दिनमै कमाए २६ हजार ७ सय रुपैयाँ

मंगलबार, चैत १३ २०८०
सर्वोत्तम सिमेन्टका लगानीकर्ताले पाँच दिनमै कमाए २६ हजार ७ सय रुपैयाँ

काठमाडौं- सर्वोत्तम सिमेन्टको आईपीओ पाएका लगानीकर्ताले छोटो समयमै आकर्षक प्रतिफल प्राप्त गरेका छन्। लगातार पाँच कारोबार दिन सकारात्मक सर्किट लागेर कम्पनीको सेयर प्रतिकित्ता ८९५.१० रुपैयाँ पुगेको छ।

कम्पनीको आईपीओमा ५० कित्ता प्राप्त गरेका लगानीकर्तालाई आजसम्म १४८ रिटर्न अर्थात् २६ हजार ७ सय १० रुपैयाँ नाफा भएको छ। आईपीओमा आवेदन दिँदा लगानीकर्ताले १८ हजार ४५ रुपैयाँ खर्च भएको थियो। 

कम्पनीले बुक बिल्डिङ विधिबाट पहिलो पटक प्रतिकित्ता ३६०.९० रुपैयाँ आईपीओ निष्कासन गरेको थियो। कम्पनीको सेयर गत हप्ता मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको हो। पाँच कारोबार दिनमा कम्पनीको ६७ हजार ७३१ कित्ता सेयर कारोबार भएको छ। 

बुक बिल्डिङ विधिअनुसार सर्वसाधारण समूहलाई निष्कासन गरिएको ६० लाख कित्ता सेयरमध्ये पनि २४ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताले किनेर बसेका छन्। 

त्यसैगरी कम्पनीका कर्मचारी, स्थानीय आयोजना प्रभावितलाई दिएको सेयर पनि ३ वर्षसम्म लकिङमै रहन्छ, जुन ६० लाखभित्रै पर्न आउँछ। त्यसैगरी म्युचुअल फण्डले पाएको सेयर पनि ६ महिना लकिङमै रहन्छ।

सर्वसाधारणको नाममा निष्कासन गरिएको २७ लाख ७६ हजार ७६ कित्ता सेयर मात्रै कारोबारमा आउने हुँदा लगानीकर्ताका लागि आपूर्ति कम भएर यस कम्पनीको सेयरमा आकर्षण भएको हो।  

बजारमा थोरै कित्ता मात्रै सेयरको कारोबार हुने कम्पनीको सेयर मूल्य साधारणतया उच्च मूल्यमा कारोबार हुने गरेको छ। पछिल्लो केही वर्षयता नेपालको सेयर बजारमा कम चुक्ता पुँजी भएका कम्पनीको सेयर मूल्यमा धेरै उतारचढाव हुने गरेको देखिन्छ। 


प्रकाशित : मंगलबार, चैत १३ २०८०१८:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend