मंगलबार, वैशाख २५ गते २०८१    
images
images

घुम्नैपर्ने धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान

images
images
images
घुम्नैपर्ने धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान

भूगोलको हिसाबले पनि निकै अग्लो स्थानमा रहेको यो मन्दिर राजधानी काठमाडौंदेखि ४५ किलोमिटरको दुरी पार गरेपछि पुगिन्छ। काठमाडौंदेखि ढुङ्खर्कसम्म बसमा सजिलै जान सकिन्छ।

images
images

काठमाडौं- बूढापाकाहरू भन्ने गर्छन्, ‘नमरी स्वर्ग देखिँदैन।’ जुन ठाउँको वर्णन गरिएको छ त्यो ठाउँमा नगइकन त्यहाँको वातावरण, दृश्य, दुःख, सुख बुझ्न सकिँदैन।

images
images
images

स्वर्गीय आनन्द लिने त ज्यूँदै छँदा हो, साँच्ची नै नारायणस्थान डाँडामा पुग्ने जो कोहीले पनि प्रकृतिको स्वर्गीय आनन्द भने अवश्य लिनेछन्। यहाँ घुम्न आउने पर्यटकका लागि प्राकृतिक सुन्दरताको वर्णन गर्ने शब्द पाउनै गाह्रो पर्छ।

images

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-३ मा पर्ने ‘बेथानचोक नारायणस्थान मन्दिर’ धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले प्रसिद्ध गन्तव्यस्थल बन्दै गएको छ। बेथानचोक नारायणस्थान मन्दिर समुद्री सतहदेखि ३०१८ मिटर उचाइमा अवस्थित छ। उक्त मन्दिर महाभारत पर्वत शृङ्खलामध्ये काभ्रेको सबैभन्दा अग्लो र शृङ्खलाभरमा चौधौँ अग्लो शृङ्खलामा रहेको छ। जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेका कारणले पनि यो डाँडा अहिले निकै चर्चामा छ।

images

ढुङ्खर्क बजारदेखि सात किलोमिटर माथि देउराली चौरसम्म सवारी साधनमा जान सकिन्छ। त्यहाँबाट ४५ मिनेट अर्थात् दुई किलोमिटरको बाटो हिँडेर नारायणस्थान मन्दिरमा पुगिन्छ। पहिला पहिला नयाँ वर्षमा गोरेटो बाटो हिँडेर भक्तजन नारायणस्थान मन्दिरमा जाने गर्थे भने हाल उक्त मन्दिरसम्म पुग्ने पदयात्राका लागि रेलिङसहितको राम्रो बाटो व्यवस्था भएकाले सहजै आउन जान सकिन्छ।

images
images

बेथानचोकको किम्बन्ती

भक्तपुरका मल्ल राजाको पालामा आफ्नो राज्यमा संकट उत्पन्न भएपछि भगवान् नारायणलाई सम्झँदा भगवान् नारायणले आफू भक्तपुरबाट दक्षिणतर्फको सबैभन्दा अग्लो स्थानमा विराजमान भएको सन्देश दिएपछि मल्ल राजा भगवान् नारायणको खोजी गर्दै आउने क्रममा यसै स्थानमा विराजमान भएको पाएपछि यस स्थानको नाम बेथानचोक नारायणस्थान रहन गएको किम्बन्ती छ।

काठमाडौं टुँडिखेलस्थित महाँकाल मन्दिरमा रहेका देवता पनि सोही मन्दिरबाट ल्याइएको तर पटकपटक फर्केर जाने गरेकाले सिक्रीले बाँधेर राखिएको किम्बन्ती छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रबिन्दुका रूपमा रहेको बेथानचोक नारायणस्थान मन्दिरमा नयाँ वर्ष, जनैपूर्णिमा, फागुपूर्णिमामा विशेष मेला लाग्ने गर्दछ। बेथानचोक नारायणस्थान मन्दिर परिसरभित्र मासुजन्य पदार्थ र मदिरा पूर्णरूपले निषेध गरिएको छ। उचित सरसफाइ र प्रचारप्रसारको पर्खाइमा रहेको यस मन्दिर पर्यटकीय हब बन्दै गएकाले उक्त गाउँपालिकाले थप व्यवस्थित गर्नुपर्ने देखिन्छ।

बेथानचोक-३ का बासिन्दा तथा समाजसेवी रमेशप्रसाद तिमिल्सिनाले भने, 'नारायणस्थान मन्दिरको इतिहास धेरै पुरानो छ, भक्तपुरबाट भूपतिन्द्र मल्लको पालामा बेथानचोक नारायण भनेर आएको र सो क्रममा बेथानचोक गाउँपालिका-३ को मसानघाटमा आएर बसेको किम्बन्ती छ।'

अहिले सो ठाउँलाई शिवालय भनिन्छ। सो ठाउँको पारिपट्टि नेवार बस्ती रहेको र सो बस्तीमा बिहानै कुखुरा कराउने, ढिकीजाँतो चलाएको आवाज आएका कारण शान्ति भंग भएकाले त्यहाँबाट बेथानचोक नारायणस्थान डाँडामा गएर बसेको भन्ने भनाइ रहेको उनले बताए। विसं. २०७६ मा भक्तपुरबाट इँटा ल्याएर गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय जनसमुदायबाट श्रमदान गरी नारायणस्थान मन्दिर निर्माण गरेको पनि उनले जानकारी दिए।

मल्ल राजाको पालामा नारायण भगवान भक्तपुरको कोलाहल मन नपरेर बेथानचोकमा प्रतिस्थापित भएको किम्बन्ती रहेको बेथानचोक-३ का स्थानीय बासिन्दा तथा समाजसेवी रमेशप्रसाद तिमिल्सिनाले बताए। उनका अनुसार गोकुल नाम गरेका एक व्यक्ति स्याउला काट्न जाँदा भिरबाट खसेको र खोज्दै जाँदा उनको शव खोल्सामा भेटिएका कारण नारायणस्थान जाने बाटोमा पर्ने भिरको नाम गोकुले भिर रहेको छ।

उनले बेथानचोक नारायणस्थान क्षेत्रमा छ प्रकारका लालीगुराँस, लोपोन्मुख प्रजातिका जनावर, चराचुरुंगी तथा लौठसल्ला, ठिङ्ग्रेसल्ला, सुगन्धवाल, चिराइतो, कुरिलो, जेठीमधु आदि जडीबुटी पाइने बताए। तिमिल्सनाले यहाँ घुम्न आउने पर्यटकसँगै आफू पनि डाँडामा जाने र बाटोमा पर्ने विभिन्न स्थानको जानकारी गराउँदै नारायणस्थान मन्दिर दर्शनका साथसाथै हिमालका मनमोहक दृश्य, तराईको समथर भूभाग र जिल्लाका विभिन्न स्थानको दृश्य देखाउँदै र वर्णन गर्दै पर्यटकको मन तान्ने गरेका छन्। पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो दिन प्रतिदिन बढ्दै गएको छ।

नारायणस्थान मन्दिरको धर्मशाला बाहिर बिक्रीका लागि थोरै चाउचाउ, बिस्कुटलगायतका सामान राखेर बस्नुभएका महाँकालथान, बेथानचोक-३ घर भएका प्रकाश सत्यालले आफू केही महिनाअघि मात्र विदेशबाट आएको र अब विदेश नगइ यही नारायणस्थान मन्दिरको रेखदेख गर्ने, सरसफाइ गर्ने, मन्दिरमा आउने पर्यटकको व्यवस्थापन गर्ने सोच रहेको बताए।

उचित सरसफाइको पर्खाइमा रहेको यस मन्दिरको सरसफाइको जिम्मा पनि उनले पाएको बताए। यो स्थान पर्यटकका लागि अति नै रमणीय रहेको र यसको उचित प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने आफ्नो उद्देश्य रहेको पनि उनले बताए।

ललितपुरको सातदोबाटोबाट नारायणस्थान मन्दिर दर्शनसँगै घुम्न आएका श्याम गौतमले भने, 'नारायणस्थान मन्दिर रहेको डाँडा घुम्नका लागि एकदमै रमणीय छ भनेको विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएको तर आज आफ्नै आँखाले देख्न पाउँदा आनन्द महसुस भइरहेको छ।' यो ठाउँ हामी जस्तै घुम्नका लागि आउने आन्तरिक पर्यटकले पनि विभिन्न माध्यमबाट प्रचारप्रसार गरे आन्तरिक पर्यटकका साथसाथै बाह्य पर्यटकको हब बन्न सक्ने गौतमले बताए।

मध्यबानेश्वर, काठमाडौंबाट आएका सरगमजङ ठकुरी र विशाल वलीले काठमाडौंबाट नजिकको दुरीमा रहेको नारायणस्थान डाँडा हाइकिङका लागि जति माथि गयो त्यति रमणीय वातावरण रहेको बताए। उनीहरुले सामाजिक सञ्जाल र युट्युबबाट आफूहरूले नारायणस्थान डाँडा घुम्नका लागि आकर्षक छ भन्ने थाहा पाएको बताए।

यहाँ आउने पर्यटकको सुविधाका लागि होमस्टेको पनि व्यवस्था गरिएको छ। यहाँँ बिहानीको सूर्योदय तथा सूर्यास्त हेर्नका लागि पनि आन्तरिक पर्यटक जाने गरेको पाइएको छ। पर्यटकहरू बेलुका नै टेन्ट हालेर बिहानीको झुल्के घाम चराचुरुंगीको सुमधुर आवाज, नारायणस्थान मन्दिरको दर्शनका साथै वरिपरिको दृश्यावलोकन गरी भरपुर मनोरञ्जन लिएर फर्कने गरेको स्थानीय बासिन्दा बताउँछन्। यस स्थानमा जाँदा आकासै छुन खोजे जस्तो अनुभव हुने र लहरै देखिने हिमालले मोहित पार्ने गर्दछ। वरिपरि देखिने पहाड, डिलैमुनि रहेको गुफा वर्णन केको मात्र गर्नु सीमा नै छैन। 

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिकाको पूर्वाधार विकासको कामलाई नै आफूले पहिलो प्राथमिकतामा राखेको बताए। बेथानचोक घुम्न आउने पर्यटकले उचित सडकको निर्माण नहुँदा दुःख पाएकोदेखि आफू निर्वाचित हुनेबित्तिकै पहिलो प्राथमिकतामा सडक निर्माण नै राखेको बताए।

बेथानचोक नारायणस्थान मन्दिरमा घेराबारसहित सडक व्यवस्थित गर्नका लागि ढुंगा बिछ्याउने काम भइसकेको र थप काम पनि द्रुत गतिमा भइरहेको जानकारी दिए। संघ सरकारको समपूरक कार्यक्रममा पनि बेथानचोक नारायणस्थान मन्दिरको पूर्वाधार विकासका लागि कार्यक्रम रहेको अधिकारीले बताए।

अध्यक्ष अधिकारीले काभ्रेको बेथानचोक गाउँपालिकाले नारायणस्थान मन्दिरलाई धार्मिक एवं पर्यटकीयस्थल बनाउनका लागि दीर्घकालीन योजना बनाई पूर्वाधार विकासको कामलाई पहिलो प्राथमिकतामा राखेको बताए। उनले यस ठाउँमा प्रशिक्षार्थीका रूपमा आउने विद्यार्थीहरूलाई मध्यनजर गरी घेराबार लगाएको बताए।

पनौतीको सिमानादेखि निजी स्रोतबाट दिगो विकास लक्षित कार्यक्रम गरेको बताउँदै उनले स्वदेशी तथा विदेशी पर्यटकको सहजताका लागि केबलकारको व्यवस्था गर्ने र हेलिकप्टरबाट माथि जान सक्ने व्यवस्था गर्ने पालिकाको दीर्घकालीन सोचलाई अन्तर्राष्ट्रिय संघसंस्थाले पनि चासो व्यक्त गरेका जानकारी गराए।

अर्को वर्ष बेथानचोक महोत्सव गर्ने योजना बनाइएको उनले जानकारी दिए। उनका अनुसार यहाँसम्म पानी लैजान लिफ्टिङको प्रबन्ध मिलाइएको छ। बाटोका विभिन्न स्थानमा फोहर संकलन गर्ने भाँडाहरूको व्यवस्था गर्नाका साथै पदयात्रीका लागि ठाउँठाउँमा बस्ने बेन्चको व्यवस्था पनि गरिएको छ। खानेपानी व्यवस्थाका लागि पाइप बिछ्याइसकिएको र अब पानीको व्यवस्था पनि छिट्टै गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताए।

पर्यटकलाई बस्ने ठाउँको व्यवस्था, फोहर व्यवस्थापन, पर्यटकको विवरण संकलन, स्वदेशी तथा विदेशी पर्यटकमा वृद्धि, पानीको व्यवस्थापन, वनभोज गर्ने ठाउँको व्यवस्थापन गर्न सके यो ठाउँ साँच्चै नै भविष्यमा ‘पर्यटकीय हव’ बन्ने निश्चतप्रायः छ। ढकमक्क फुलेका लालीगुराँस, हिमाल, पहाड र तराईका मनोरम प्राकृतिक दृश्य एकैपटक अवलोकनसँगै भगवान नारायणको दर्शन गर्न पाइने भएकाले पनि यहाँ एकपटक अवश्य पुग्नै पर्ने देखिन्छ।

कसरी पुग्ने त नारायणस्थान डाँडा? 

भूगोलको हिसाबले पनि निकै अग्लो स्थानमा रहेको यो मन्दिर राजधानी काठमाडौंदेखि ४५ किलोमिटरको दुरी पार गरेपछि पुगिन्छ। काठमाडौंदेखि ढुङ्खर्कसम्म बसमा सजिलै जान सकिन्छ। बेथानचोक गाउँपालिकाको ढुङ्खर्क बजारबाट करिब तीन घण्टा हिँडेरै नारायणस्थान मन्दिरमा पुग्न सकिन्छ। आफ्नै साधन हुनेहरू भने देउराली चौरमा साधन राखी करिब ४५ मिनेट पैदल हिँडेपछि सो डाँडामा पुग्न सक्छन्।

बेथानचोक गाउँपालिकाको ढुङ्खर्कबाट पैदल हिँडेर तीन घण्टामा पुग्न सकिने नारायणस्थान डाँडाले भविष्यमा राम्रै पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको छ। वरिपरि स्टिलको बारले घेरी बीचबीचमा उभिएर दृश्यावलोकन गर्न सकिने बनाइएको यस ठाउँमा उभिएर हेर्दा वारिपारि छर्लङ्‌ग देखिने चट्टाने ढुंगा, कुनै सुगाको ठोँड जस्तो देखिने, कुनै पर्वत जस्तो देखिने तलतिर गाउँ बस्ती हेरिरहुँ जस्तो देखिन्छ। नारायणस्थान डाँडाबाट नजिकै देखिने सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्न पाइने हुनाले पनि आन्तरिक पर्यटक विशेषगरी रात बस्ने गरी जाने गरेको पनि स्थानीय बासिन्दा बताउँछन्।

मन्दिर जाने बाटोमा विभिन्न प्रकारका लालीगुराँसले स्वागत गरेको पाइन्छ। मन्दिरको दर्शन गर्नाले मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ। यो मन्दिरमा विशेष गरी फागुपूर्णिमामा ठूलो मेला लाग्ने गर्छ। उक्त मन्दिरमा जंगलै जंगलको बाटो हुँदै माथि डाँडोमा जानुपर्छ। छिनमै ड्याम्म तुवाँलेले ढाक्ने र छिनमै तुवाँलो हटेर छर्लङ्‌ग वारिपारि तलमाथिका रमणीय वनपाखा, बाटैभरि ढकमक्क फूलेका लालीगुराँस देख्दा त्यहाँ पुग्ने जो कोहीको पनि मन नलोभिने कुरै भएन। रासस

images

प्रकाशित : मंगलबार, चैत १३ २०८०१२:०१

प्रतिक्रिया दिनुहोस