शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

पोखरामा चैत २९ देखि बैशाख १ गतेसम्म फेवा नववर्ष महोत्सव हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १२ २०८०
images
पोखरामा चैत २९ देखि बैशाख १ गतेसम्म फेवा नववर्ष महोत्सव हुने
images
images

गण्डकी- पोखरामा यही चैत २९ गतेदेखि बैशाख १ गतेसम्म होटेल संघ पोखरा नेपालले गर्न लागेको १९औँ फेवा नव वर्ष महोत्सव पर्यटकीय राजधानीको गरिमा र महत्व बढाउने किसिमको हुनुपर्नेमा पर्यटन सम्बद्ध क्षेत्रका अगुवाले जोड दिएका छन्।

images
images
images

महोत्सवका सन्दर्भमा आज संघले आयोजना गरेको छलफल एवम् अन्तरक्रियामा सहभागीले यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको पोखरामा हुनलागेको महोत्सवमा यसको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्नुपर्ने बताए।

images
images

पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म हुने महोत्सवमा नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै पछिल्लो पुस्ताको इच्छा र रुचिसमेतलाई दृष्टिगत गरी कार्यक्रमको तयारी गरिएको संघका अध्यक्ष एवम् महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए। 

images
images

महोत्सवलाई भव्य र सभ्य बनाउन गठित विभिन्न २१ वटा उपसमितिले आआफ्नो तयारी तीव्र बनाएको बताउँदै उनले यसैका सन्दर्भमा पोखराका विभिन्न पर्यटकीय संघसंस्थाका तर्फबाट भारी छुट प्रदान गरिएको जानकारी गराए।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, पञ्चेबाजा, नाचगानका कार्यक्रम, दोहोरी र कन्सर्ट समेटिने उल्लेख गर्दै सुवेदीले यसपटक ड्यामसाइड क्षेत्रसमेतमा विविध गतिविधि सञ्चालन गरिने बताए।

महोत्सवमा पर्यटक दौड र सम्भव भएसम्म डुङ्गा दौडसमेत समेटिने उनको भनाइ छ। पर्यटन, संस्कृति र खानालाई जोड दिएर गरिएको महोत्सवले कोरोना महामारीलगायतका कारण प्रभावित पर्यटनलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।

अन्तरक्रियामा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले महोत्सवको प्रचारका लागि डिजिटल मार्केटिङलाई जोड दिन र भारतीय सञ्चारकर्मीसमेतलाई आमन्त्रण गर्न सुझाव दिए।

पोखरालाई पर्यटनको राजधानीको रुपमा घोषणा गरिएपछि यसलाई एउटा ब्राण्डको रुपमा प्रचारप्रसार गर्न उनले सुझाव दिए।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विकल तुलाचन, महासचिव राजेन्द्र ढकाल, पोखरा उद्योग वाणिज्य संघ, पर्यटनसम्बद्ध संस्था टान गण्डकी, नाट्टा गण्डकी, महिला पर्यटन व्यवसायी मञ्च, पोखरा पंक्षी समाज, नेपाल हवाई खेलकूद संस्थालगायतका तर्फबाट अध्यक्ष तथा प्रतिनिधिले फेवा नव वर्ष महोत्सव पोखराको पहिचान बनिसकेको बताउँदै पर्यटकीय राजधानी घोषणासँगै हुनलागेको महोत्सव भव्य र सभ्य बन्नुपर्नेमा जोड दिएका छन्।

उक्त अवसरमा महोत्सवलाई सफल पार्न आफ्ना संस्थाकातर्फबाट साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरिएको थियो। रासस


प्रकाशित : सोमबार, चैत १२ २०८०१९:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend