शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजारमा देखिएन वृद्धितर्फको संकेत, साताको पहिलो कारोबार नै ओरालोतिर

सोमबार, चैत १२ २०८०
सेयर बजारमा देखिएन वृद्धितर्फको संकेत, साताको पहिलो कारोबार नै ओरालोतिर

काठमाडौं- सुधारतर्फ जाने अपेक्षाविपरीत सेयर बजार लगातार उतारचढावबीच घट्दो क्रममा नै देखिएको छ। सम्हालिएर उकालो लाग्ने अपेक्षा गरिएको बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा घट्दो क्रम नै बढी देखिएको हो। 

यो साता पहिलो कारोबारमा सोमबार १७.०१ अंकले घटेर बजार २०३१.५५ बिन्दुमा झरेको छ। ३७ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ। २०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता आइतबार १०.६२ अंकले ओरालो लागेको सेयर बजार दोस्रो कारोबारमा सोमबार सम्हालिएर ३.२७ अंकले बढेको थियो। मंगलबार पुन: ६.२४ अंकले घटेको बजार बुधबार पनि ३.३४ अंकले घटेको थियो। बिहीबार पनि बजार १५.३७ अंकले ओरालो लागेको थियो। 

सत्ता गठबन्धनमा फेरबदल देखिएसँगै एकाएक उचालिएको सेयर बजारमा पुन: उतारचढाव भइरहेको हो। सरकारी निकायको साथ मिल्ने आशमा हौसिएका लगानीकर्ताहरू अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै लाग्ने देखिएको छ।

लगानीकर्ताहरूले अहिलेको अवस्थामा बजार वृद्धितर्फ नै लागेर पुन: २२०० को बिन्दुतर्फ लाग्ने अपेक्षामा थिए तर बजारले वृद्धितर्फको गति समात्न सकेको छैन। थग नीतिगत सहजता हुने आशमा संगठित लगानीकर्ताहरू रहेको भए पनि बजारको अवस्थाले साथ दिइरहेको छैन।

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : सोमबार, चैत १२ २०८०१५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend