शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

समस्याग्रस्त सेयर मार्केट एण्ड फाइनान्स कम्पनी सञ्चालनका लागि संयोजक नभेटिएपछि राष्ट्र बैंकले फेरि खुलायो आवेदन

सोमबार, चैत १२ २०८०
समस्याग्रस्त सेयर मार्केट एण्ड फाइनान्स कम्पनी सञ्चालनका लागि संयोजक नभेटिएपछि राष्ट्र बैंकले फेरि खुलायो आवेदन

सेयर मार्केट एण्ड फाइनान्स कम्पनीको संयोजनक पदमा आवेदन दिन भोलि अन्तिम दिन रहेको राष्ट्र बैंकले जनाएको छ।

काठमाडौं- समस्याग्रस्त सेयर मार्केट एण्ड फाइनान्स कम्पनीको व्यवस्थापक संयोजक नभेटिएपछि नेपाल राष्ट्र बैंकले ७ दिनको समय राखेर दोस्रोपटक पुन: आवेदन खुलाएको छ।

फागुन १४ मा कम्पनी सञ्चालनका लागि दुई व्यक्ति सम्मिलित व्यवस्थापन समितिको आवेदन खुलाए पनि राष्ट्र बैंकले तोकेको योग्यताअनुसार संयोजक पदमा आवेदन नपरेपछि चैत ७ गते पुन: आवेदन आह्वान गरेको हो। उक्त पदमा आवेदन दिन भोलि अन्तिम दिन रहेको राष्ट्र बैंकले जनाएको छ।

व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार, प्रशासन वा कानूनमा स्नातोकत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव प्राप्त बैंकिङ विज्ञ रहेको व्यक्तिहरुले व्यवस्थापन संयोजक पदमा आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ।

व्यवस्थापक संयोजकको सेवा अवधि १ वर्ष रहेको र कार्य अवधि समाप्त भएपछि पनि कार्यप्रगतिका आधारमा ६/६ महिना गरी दुई पटकका लागि म्याद थप सकिने राष्ट्र बैंकले खुलाएको आवेदनमा उल्लेख छ। 

निजको मासिक तलब करबाहेक १ लाख २६ हजार ३०० रूपैयाँ तोकिएको छ भने दसैँ भत्ताबापत १ महिनाको पारिश्रमिक दिइने उल्लेख छ। यस्तै भैपरी आउने बिदा वार्षिक १२ दिन पाउने राष्ट्र बैंकले जनाएको छ।

३५ पूरा भइ ६५ वर्ष ननाघेका व्यक्तिले सो पदका लागि आवेदन दिन सक्नेछन्।

कार्ययोजना तथा सोको प्रस्तुतिकरण र अन्तर्वार्ताका माध्यमबाट सेयर मार्केट एण्ड फाइनान्स कम्पनीको संयोजकको छनौट गरिने राष्ट्र बैंकले आह्वान गरेको सूचनामा भनिएको छ। 


प्रकाशित : सोमबार, चैत १२ २०८०१३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend