शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

माछापुच्छ्रे बैंकबाट बाहिरिँदै महतो परिवार, बिक्री गर्‍यो १ करोड ७ लाख कित्ता संस्थापक सेयर

बिहीबार , चैत ८ २०८०
माछापुच्छ्रे बैंकबाट बाहिरिँदै महतो परिवार, बिक्री गर्‍यो १ करोड ७ लाख कित्ता संस्थापक सेयर

काठमाडौं- व्यवसायी उपेन्द्र महतोको परिवारले माछापु्च्छ्रे बैंकबाट बाहिरिने तयारी गरेको छ। उपेन्द्र महतोका भाइ सुरेन्द्र महतोको नाममा रहेको माछापुच्छ्रे बैंकको १ करोड ७ लाख ३७ हजार कित्ता संस्थापक सेयर बिक्री भएको छ। 

बिहीबार १ करोड ७ लाख ३७ हजार कित्ता संस्थापक सेयर १ सय १२ रुपैयाँका दरले १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँमा कर्मचारी सञ्चय कोषले खरिद गरेको छ।

गत असोजयता उक्त सेयर बिक्री गर्नका लागि माछापुच्छ्रे बैंकले तीन पटकसम्म सूचना निकालेको थियो। खरिदकर्ता नभेटिएपछि अन्तत: कर्मचारी सञ्चय कोषले नै खरिद गरेको हो।

सुरेन्द्र महतोले बिक्री गर्न चाहेको १ करोड १२ लाख ३२ हजार ४ सय ९२ कित्तामध्ये ९०.४४ प्रतिशत बिक्री भएको छ। 

सुरेन्द्र महतोसँगै उपेन्द्र महतोले पनि सेयर बिक्रीका लागि राष्ट्र बैंकमा 'फिट एण्ड प्रपर टेस्ट'का लागि अनुमति मागिसकेका छन्। उपेन्द्र महतो बैंकको अध्यक्षबाट बाहिरिएको एक वर्ष पूरा भइनसकेकाले राष्ट्र बैंकले बिक्रीका लागि अनुमति दिएको छैन। 

माछापुच्छ्रे बैंकमा महतो परिवारको २० प्रतिशतभन्दा बढी सेयर रहेको थियो। जसमध्ये भाइ सुरेन्द्र महतोको नाममा १०.९५ र दाइ उपेन्द्रको नाममा ९.१४ प्रतिशत संस्थापक सेयर रहेको थियो। 


प्रकाशित : बिहीबार , चैत ८ २०८०१५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend