शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सेयर लगानीकर्ताको ‘नो भोट’ अभियानमा प्रचण्डको धावा, भन्छन् - पुँजी बजार साम्राज्यवाद हो

आइतबार, मंसिर २६ २०७८
सेयर लगानीकर्ताको ‘नो भोट’ अभियानमा प्रचण्डको धावा, भन्छन् - पुँजी बजार साम्राज्यवाद हो

काठमाडौं- पछिल्लो समय सेयर बजार लगातार घट्न थालेपछि खासगरी अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सेयर लगानीकर्ताहरू खनिएका छन्। त्यसमा लगानीकर्ताहरूले दवाव समूह नै खडा गरेका छन्। जसमा उनीहरूले लाखौँ लगानीकर्ता जोडेर पुँजी बजार विरोधीलाई आगामी चुनावमा ‘नो भोट’ अभियान चलाउने घोषणा गरिसकेका छन्। 

तालमेलको सरकारमा माआवादी कोटाबाट अर्थमन्त्री बनेका शर्माले पुँजी बजारको विकासमा काम गर्न नसक्दा बजार घटेको आरोप सेयर लगानीकर्ताहरूको छ। अर्थमन्त्री शर्माकै कारण धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्स महिनौदेखि नेतृत्वविहीन छ। जसका कारण पनि अर्थमन्त्रीविरुद्ध सेयर लगानीकर्ता खनिने गरेका छन्। 

गत भदौ २ नेप्से परिसूचक हालसम्मकै उच्च ३१९९ अंक पुगेको थियो। भदौ ३ देखि ओरालो लागेको बजार मंसिर २६ गते आइतबारसम्म बजार उच्च अंकबाट ८३७ अंकले तल झरेको छ। यो घट्ने ट्रेन्ड बन्द नभएपछि अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सेयर लगानीकर्ताहरूले अबको चुनावमा नो भोट अभियान चलाइरहेका छन्। सो विषयको जानकार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि अवश्य रहेका छन्। 

माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै गरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोही समूहप्रति आक्रामक भाषण गरेका हुन्। 

विश्व बैंक/एडीबीप्रति किन आक्रोशित भए प्रचण्ड 

अध्यक्ष दाहालले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको टिप्पणीसमेत गरेका छन्। माओवादीविरुद्ध  सेयर लगानीकर्ताहरू आक्रोशित बन्दै गर्दा प्रचण्डको टिप्पणीले अझै असर पार्ने देखिएको छ। 

अर्थमन्त्री माओवादी कोटामा रहेकोले अहिले लगानीकर्ताको तारोमा मन्त्री शर्मा पर्ने गरेका छन्। सोही तारोको प्रतिबिम्बको रुपमा प्रचण्डको भाषण आएको टिप्पणी भइरहेका छन्। 

अहिले ४८ लाख डिम्याट खाता सञ्चालनमा रहको छ। १५ लाख लगानीकर्ता दोस्रो बजारमा कारोबार गर्छन्। २४ लाख जनाले साधारण सेयर (आईपीओ)मा लगानी गर्ने गरेका छन्। यति ठूलो समूहलाई प्रचण्डले सट्टेवाजीको आरोप समेत लगाए। 

अध्यक्ष प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउनेसमेत बताए। 

प्रचण्डले भनेका छन्- ‘पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको थियो तर, अहिले लगानी पुँजी वा दोश्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता हो।’  

उनले सेयर बजारमा लगानी गर्नु साम्राज्यवादको विकसित रुप भएकोसमेत बताए। ‘वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर अगाडि बढाउने, नाफा उठाएर विश्वका सीमित पुँजीपतिहरूको हातमा संसारकै धन एककठ्ठा गर्ने योजना हो,’ उनले भने।

उनले विश्वको पैसा सीमित पुँजीपतिहरूले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको र नाङ्‌गो राख्ने प्रणाली पुँजीबजार भएको बताए।

बैंकहरूले सिधै घरजग्गा किनबेचमा लगानी लगाउने भन्दै उनले घरजग्गाको कारोबारबाट सिधै पैसा आउने र थोरै लगानीमा छोटो समयमा अर्बौं कमाउने गरेको आरोपसमेत लगाए।

भिडियोमा हेर्नुहोस् प्रचण्डको भनाइ-


प्रकाशित : आइतबार, मंसिर २६ २०७८१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend