शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

निरन्तर बढिरहेको सेयर बजारमा सामान्य 'करेक्सन', ४ अर्ब २४ करोडको कारोबार

बुधबार, फागुन ३० २०८०
निरन्तर बढिरहेको सेयर बजारमा सामान्य 'करेक्सन', ४ अर्ब २४ करोडको कारोबार

काठमाडौं- निरन्तर बढिरहेको सेयर बजारमा बुधबारको कारोबारमा भने उतारचढावबीच सामान्य करेक्सन देखिएको छ। सत्तागठबन्धन परिवर्तनको प्रभाव देखिएर गएको सातादेखि बढिरहेको बजारमा कारोबारमा सुधार भइरहँदा बुधबार करेक्सन देखिएको हो। 

बुधबार २.४८ अंकको करेक्सन हुँदै बजार २१०८.७२ बिन्दुमा झरेको छ। ९४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ। १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता समग्रमा ७०.२६ अंकको वृद्धि भएको सेयर बजारमा यो साता पनि वृद्धितर्फ नै साथ मिलिरहेको थियो। यो साता आइतबार २२.१० अंकले बढेको बजार साताको दोस्रो कारोबारमा मंगलबार ५८.५८ अंकले बढेको थियो।

लगानीकर्ताहरूले अहिलेको अवस्थामा बजार वृद्धितर्फ नै लागेर पुन: २२०० को बिन्दुतर्फ लाग्ने अपेक्षा गरेका छन्। विश्लेषकहरू समेत अहिलेको समग्र परिस्थिति हेर्दा बजार क्रमश: धिमा गतिमा माथितिर नै लाग्ने देखिएको बताउँछन्।

पर्ख र हेरको सोचमा रहेका संगठित लगानीकर्ताहरू पनि नयाँ सरकारसँगै हौसिएका छन्। सेयर बजारका संगठित लगानीकर्ताहरूको मनोविज्ञान बुझेर अर्थमन्त्री वर्षमान पुनले बजारको सुधारका काममा आफू लागिरहने बताइरहँदा कारोबारमा साथ मिलिरहेको छ। 

सत्ता साझेदार फेरिँदा हरेक पटक लगानीकर्ता अस्थिर देखिने गरेका छन्। जसको असर दोस्रो बजारमा पर्ने गरेको छ। देशको अर्थतन्त्रको सूचक र कम्पनीको अवस्थामा लगानीकर्ताले कदम चाल्नुपर्नेमा राजनीतिलाई ठूला लगानीकर्ताले हतियार बनाउने गरेका छन्। जसले गर्दा बजार प्राकृतिक घटबढभन्दा पनि अस्वभाविक उचाल्ने गरिएको छ।

उतारचढावबीच घट्ने क्रम नै बढी भइरहेको बजार मनोवैज्ञानिक आधार बिन्दुबाट नै तल लागिरहँदा लगानीकर्ताले नयाँ सत्ता समीकरणसँग आश गरेको देखिएको छ। अबको बजार कता जान्छ भन्ने अनुमान सरकारले दिने भरोसापछि मात्र थाहा हुने संगठित लगानीकर्ताहरू बताउँछन्।

यस्तोमा अर्थमन्त्री पुन पनि लगानीकर्ता विश्वस्त पार्नमा केन्द्रित भएका देखिन्छन्। सेयर बजारमा भएका नीतिगत कुरालाई सुधार गरेर अगाडि बढ्ने उनले बताएका छन्। मन्त्री पुनले सेयर लगानीकर्ताको हितमा काम गर्ने बताइरहँदा लगानीकर्ताहरूले नीतिगत अप्ठ्यारोमा नपरिने आश गरेका छन्। 


प्रकाशित : बुधबार, फागुन ३० २०८०१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend