आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

पर्यटकको पर्खाइमा मुस्ताङको लुकबुङ गुफा

बुधबार, फागुन ३० २०८०
पर्यटकको पर्खाइमा मुस्ताङको लुकबुङ गुफा

फल्याक गाउँदेखि हिँडेर गुफासम्म पुग्दाको दुःख कलात्मक आकृति देखेर भुलाउँछ। गुफाभित्रै पकाएर खान सकिने भाँडाकुँडा पनि छन्।

म्याग्दी- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ मा रहेको लुकबुङ गुफा पर्यटकको पर्खाइमा छ। फल्याक गाउँ नजिकै रहेको लुकबुङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले अनौठा आकृति देख्न सकिने लुकबुङ गुफा पर्यटकको पर्खाइमा रहेको बताए। 'जोमसोम-कागबेनी-मुक्तिनाथ सडक भएर लाखौँ भक्तजन र पर्यटक आवतजावत गरे पनि नजिकै पर्ने लुकबुङ गुफा सुनसान छ,' उनले भने, 'मुस्ताङ भित्रने पर्यटक र भक्तजनलाई लुकबुङ गुफामा भित्र्याउन सकेमा बसाइँ लम्ब्याउन सकिने सम्भावना छ।'

गुफाभित्र हात्तीको अनुहार, सुड, लक्ष्मी, शिवलगायत देवीदेवता, मानिसका शरीरका अंग आकृति देख्न सकिन्छ। विभिन्न जनावर र शिवलिंगका प्राकृतिक आकृति गुफाका आकर्षण हुन्। करिब १५ मिटर लामो रहेको गुफाको प्रवेशद्वारमा ४० मिटर अग्लो झरना छ। हिउँदयाममा झरनाको पानी जम्छ।

गुफाभित्र बौद्ध धर्मावलम्बीका लामाले तपस्या गर्ने ठाउँ छ। जोमसोम-कागबेनी-मुक्तिनाथ सडकअन्तर्गत एक्लेभट्टीस्थित कालीगण्डकी नदीको मोटरेबल पुलदेखि करिब १० मिनेट गाडीको यात्रा गरेपछि पुगिने फल्याक गाउँदेखि लुकबुङ गुफा पुग्न ४५ मिनेट पैदलयात्रा गर्नुपर्छ।

फल्याक गाउँदेखि हिँडेर गुफासम्म पुग्दाको दुःख कलात्मक आकृति देखेर भुलाउँछ। गुफाभित्रै पकाएर खान सकिने भाँडाकुँडा पनि छन्। औँसी र पूर्णिमाका दिन लुकबुङ गुफा दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको स्थानीयवासीले बताएका छन्। फल्याक गाउँदेखि लुकबुङ गुफा जोड्ने पैदलमार्ग तयार पारिएको र आगामी वर्ष सडक पुर्‍याउने तयारी गरेको वडाध्यक्ष गुरुङले बताए। गुफाको धार्मिक र प्राकृतिक महत्वका विषयमा प्रचारप्रसार गरिने उनले बताए। रासस


प्रकाशित : बुधबार, फागुन ३० २०८०१४:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend