शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

एकदिन उचालिएको सेयर बजार पुन: राताम्य, अर्थमन्त्री पर्खंदै लगानीकर्ता

मंगलबार, फागुन २२ २०८०
एकदिन उचालिएको सेयर बजार पुन: राताम्य, अर्थमन्त्री पर्खंदै लगानीकर्ता

काठमाडौं- सत्ता साझेदार फेरिएर अर्थमन्त्रीमा एमालेका विष्णु पौडेल आउने चर्चासँगै उचालिएको सेयर बजार पुन: घटेको छ। लामो समयदेखि उतारचढावमा रहँदै ओलारोतिर नै लागिरहेको बजारमा अर्थमन्त्रीमा पौडेल आउने चर्चाले सोमबार सकारात्मक सर्किट लागेको थियो।

मंगलबार भने बजारले पुरानै ओरालो गति समातेको छ। मंगलबार ७०.३१ अंकले घटेर बजार २००७.६९ बिन्दुमा झरेको छ। ३३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ। २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

सोमबार कारोबार सुरू भएको तीन मिनेटमै बजार ४.०४ प्रतिशतले बढेको थियो। त्यसपछि २० मिनेट रोकिएर कारोबार खुलेको एक मिनेटमै ५.०३ प्रतिशतले बजार बढेर दोस्रो सर्किट ब्रेक लाग्यो। दोस्रो सर्किट ब्रेकपछि ४० मिनेट रोकिएको बजार पुन: खुल्नेवित्तिकै ६ प्रतिशतमाथिको वृद्धिले तेस्रो सर्किट ब्रेक लागेको थियो। 

सोमबार ११७.७० अंकले बढेर बजार २०७८.०० मा पुगेको थियो। त्यसअघि आइतबार ११.७८ अंकले घटेर बजार १९६०.३० बिन्दुमा झरेको थियो। 

उतारचढावबीच घट्ने क्रम नै बढी भइरहेको बजार मनोवैज्ञानिक आधार बिन्दुबाट नै तल लागिरहँदा लगानीकर्ताले नयाँ सत्ता समीकरणको भरोसा गरेका थिए। जसमा अर्थमन्त्रीमा सोमबारसम्म पौडेलकै चर्चा थियो। यसअघि पनि पौडेल अर्थमन्त्री हुँदा सेयर बजारले उचाइ लिएको थियो। यसैले पनि लगानीकर्ताका लागि उनी रुचाइएका अर्थमन्त्री हुन्। 

मंगलबारसम्म भने अर्थ मन्त्रालय माओवादीको भागमा पर्ने खबरले लगानीकर्ताहरूको उत्साह घटेको छ। अब सत्ताको भागवण्डा नटुंगिँदासम्म उनीहरू पर्ख र हेरको सोचमा रहने देखिन्छन्। 


प्रकाशित : मंगलबार, फागुन २२ २०८०१५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend