काठमाडौं- आधुनिक इतिहासको पहिलो अर्बपतिका रुपमा चिनिएका जोन डी रकफेलरले अपरिपक्व उमेरमा हासिल गरेका परिपक्व सफलताहरूबाट सहजै अनुमान लगाउन सकिन्छ कि उनी एक मेहनती र लगनशील व्यक्ति थिए।
आजभन्दा ८७ वर्षअघि नै भौतिकरुपमा 'भूत' बनिसकेका रकफेलरको स्मरण वर्तमानमा पहिलो अर्बपति तथा सफल व्यवसायीका रूपमा मात्रै छैन, एक कुशल नेतृत्व र परोपकारी व्यक्तित्वका रुपमा पनि उनकाे चर्चा हुन्छ।
भनिन्छ, व्यक्तिका रूपमा परोपकारी, दयाशील, धर्मात्मा भनेर चिनिने रकफेलर व्यवसायीका रूपमा भने निकै 'क्रूर' थिए। व्यापारलाई उनले 'युद्ध' जसरी अगाडि बढाए भने प्रतिस्पर्धीलाई वैरीजस्तो व्यवहार गरे।
एक समय थियो, जोन डी रकफेलरको नाम सुन्नेबित्तिकै ठूलाठूला उद्यमी व्यवसायी भयभीत हुन्थे। प्रतिद्वन्द्वीहरूलाई दबाएर, डरत्रासमा पारी उनीहरूको साम्राज्य हडपेर रिफाइनरी तेल व्यवसायमा उनले आफ्नो प्रभुत्व जमाए।
प्रतिस्पर्धी उद्योगहरूलाई नियन्त्रणमा लिएर हुन्छ कि रेलरोडसहरूसँग गैरकानूनी साझेदारी गरेर हुन्छ या सरकारी कर्मचारीलाई प्रलोभनमा पारेर, उनको साम्राज्य स्ट्यार्न्डर्ड आयलले अमेरिकाभर शक्तिशाली एकाधिकार जमायो।
क्रूर एवं अराजक व्यावसायिक अभ्यास, गोप्य सौदासम्झौता तथा तिक्त व्यावसायिक प्रतिस्पर्धाका कारण उनले धेरै दुश्मन पनि कमाए। उनीसँग अमेरिकी सरकार नै हायलकायल थियो, यतिसम्म कि पछि उनको एकाधिकार तोड्न कानून नै बनाउनुपर्यो।
तर सफलताका लागि दुनियाँले कुल्चिएर थङथिलो बनाएको जीर्ण बाटो हिँड्नुभन्दा फरक बाटो हिँड्ने र हिँड्न उक्साउने रकफेलर 'आयल टाइकुन' बन्नुपूर्व समाजको निमुखा वर्गमा पर्थे।
न्यूयोर्ककाे रिचफोर्डमा, एक निम्नवर्गीय किसान परिवारमा दोस्रो सन्तानका रुपमा जन्मिएका जाेन सानैदेखि चलाख तर गम्भीर स्वभावका थिए। उनकी आमा एलिजा डेभिसन कडा परिश्रमी र परोपकारी थिइन् भने पिता विलियम एभरी रकफेलर एक पेसेवर ठग थिए, जो ठगीका सिलसिलामा विभिन्न गाउँ तथा सहरमा पुग्थे र महिनौँसम्म उतै हराउँथे।
वर्षमा आकलझुकलमात्रै घरमा देखा पर्ने उनका पितामा जिम्मेवारी बोध नहुँदा उनको परिवार गरिबीबाट त्यतिबेलासम्म माथि उठ्नै सकेन जतिबेलासम्म उनी र उनका भाइहरू अर्थाेपार्जनमा लाग्न सक्ने उमेरका भएनन्।
‘डेभिल बिल’ का रूपमा समेत चिनिने विलियम परिवारलाई खेतीपातीमा सघाउनुको सट्टा बरू बरालिएर हिँड्थे। दर्जनाैँ परिचय थिए उनका तर कुनैमा पनि उनले उत्कृष्ट गर्न सकेनन् न त टिक्न नै सके।
व्यापारी, लम्बरम्यान, पिचम्यान, हर्बलिष्ट, सेल्सम्यान, खेलाडी, पशुप्रशिक्षक, टुनामुना गर्ने, सम्मोहक तन्त्रविद्या जानेका। कठपुतली कला, विभिन्न आवाजहरू निकालेर मनोरञ्जन गराउने खुबी पनि थियो उनमा। उनका यी सबै परिचय ओझेलमा परे र एक खुँखार ठगका रुपमा विख्यात बने।
कुनैबेला उनी मध्यरातमै घरबाट निस्कन्थे अनि महिनाैँपछि पुन: देखा पर्थे जाेन र उनका भाइबहिनीका लागि खेलाैना तथा उपहार लिएर। पिताका यी चर्चिकला जाेन अनाैठाे मान्थे। किनकी उनको परिवार एक पुरानो जीर्ण झुप्रो घरमा बस्थ्याे। फाटेटालेका कपडाले आङ ढाक्नुपर्ने बाध्यता। कहिले आधा त कहिले भाेकाे पेट, चिसा भुइँमा रात कटाउँथे।
उनीहरू एकदमै दयनीय जीवन बाँचिरहेका थिए। यस्ताेमा अचानक पिता हराउनु, सुकिलामुकिला भएर टुप्लुक्क देखा पर्नु, चरम गरिबीका बीच पिताकाे क्षणिक तडकभडक उनलाई अस्वाभाविक लाग्नु स्वभाविक थियाे।
उनलाई याे थाहा थिएन, चाडपर्वमा महँगा उपहार लिएर आउन यसकारण सम्भव भयो कि उनका पिता दोहोरो चरित्र बाँचिरहेका थिए, एक ‘कन आर्टिस्ट’ अर्थात् एक फ्रड थिए। गाउँबाहिर उनी डा. विलियम लेभिङ्स्टन नामले चिनिन्थे।
गाउँगाउँसम्म पुगेर जडीबुटीजन्य औषधि भन्दै उपयोगहीन औषधि दिने तथा उपचार गर्थे जो रोगी र रोगको उपचार नपाएर निराश बसिरहेका हुन्थे। उनी त्यो समयमा त्यस्ता रोगहरू निको पार्ने बताउँथे जुनबेला ती रोगसम्बन्धी औषधि नै बनेका थिएनन्। उनी आफूले क्यान्सर निको पार्न सक्ने दाबी गर्थे र उपचारका नाममा २५ डलरसम्म लिन्थे।
उनले घरपरिवारलाई न समय दिए न पर्याप्त आम्दानी नै। आमा नै थिइन् जसले घरखर्चदेखि छोराछोरीको लालनपालन र शिक्षादीक्षा सम्हालिन्। उनलाई रकफेलरले सघाए। पिताको प्रेम र छत्रछाया नपाएका उनी सानैदेखि आमाको खासनजिक रहे।
किसान परिवारमा जन्मिएका कारण खेतीकिसानीमा परिवारलाई सघाउनु सामान्य थियो। उनले पढाइसँगसँगै बिस्तारै खेतीकिसानी र घरको अन्य जिम्मेवारीमा पनि सघाउन थाले। यसले उनलाई अनुशासन सिकायो र कडा परिश्रमी बनायो। जस्तोसुकै कठिन घडीमा पनि जीवनको सन्तुलन मिलाउन सायद उनले यहीँबाट सिके।
धर्मकर्म, पराेपकारमा एलिजाकाे विशेष रूचि थियाे। उनकै प्रभाव हुनुपर्छ, रकफेलर पनि पछि सफल उद्यमीसँगै परोपकारी पनि बने। उनलाई घरको जिम्मेवारी कहिले पनि बोझ लागेन। आमाको खुशीमा खुशी खोज्ने उनले आमामाथिको परिवारको आर्थिक भार बाँड्न सानै उमेरदेखि नै पैसा कमाउन र बचत गर्न सिके।
उनी आम्दानीका विभिन्न विकल्पहरू खाेज्थे। एकपटक उनले वाइल्ड टर्कीलाई पछ्याउँदै जंगल पुगे र रुखमा रहेको उसको अण्डा चोरेर ल्याए। कोरलिएर वयस्क बनेपछि राम्रै नाफामा बेचे भनिन्छ। उनकाे सानाेसानाे आर्थिक सहयाेगले आमालाई राहत मिल्थ्याे। सानैदेखि परिश्रमी, मेहनती र लगनशील भएकै कारण पनि पछि उनी वैभवशाली बने।
उनी १० वर्षको हुँदा उनका पितामाथि एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लाग्यो। प्रमाणित नभए पनि उनी र उनको परिवारले सामाजिक तिरस्कार भोग्नुपर्यो त्यहाँबाट अर्को ठाउँ सर्नुपर्यो भनिन्छ। यति हुँदा पनि उनका पिता सुध्रिएका भने थिएनन्। नक्कली परिचयका आडमा उनले अर्की एक युवतीसँग बिहे गरे उनलाई नचिन्ने ठाउँमा। उनले दाेस्राे बिहेबारे ती महिला र परिवारबाट लामाे समयसम्म गाेप्य राखेका थिए। तर बिहेपछि उनकाे घर आउजाउ झनै पातलियाे। उनी घरमा नहुँदा जाेनले नै घरको जिम्मेवारी तथा दायित्व बहन गरे। व्यावहारिक रुपमा उनी नै घरको मुखियाजस्तो बने।
स्कूले जीवनमै उनले आम्दानीकाे विभिन्न बाटो पहिल्याइसकेका थिए भने परिवारको आर्थिक अवस्था पनि माथि उकास्दै थिए। उनी सानो परिमाणमा ऋणसमेत लगाउने भइसकेका थिए। पछि परिवार क्लिभल्याण्ड, ओहायोमा सर्यो जतिबेला रकफेलर १६ वर्षका थिए। यतिबेला उनले स्कूले जीवन पनि पूरा गरिसकेका थिए।
उनी उच्च शिक्षा हासिल गर्न चाहन्थे तर उनीसँग चारजना दाजुभाइ दिदीबहिनी थिए, सँगै अर्को सन्तानकाे पनि आगमन हुँदै थियाे। त्यसकारण उनले पढाइभन्दा काम तथा नोकरीलाई प्राथमिकतामा राख्नुपर्ने भयो। ओहायोमा जोनले केबल दुईवर्ष हाईस्कूल पढेर बीचमै छाडे अनि छाेटाे समयकाे बुककिपिङकाे काेर्स लिएर कामकाे खाेजीमा निस्किए।
उमेर सानाे र अनुभव शून्य भएका कारण उनलाई काम पाउन निकै कठिन भयाे। जबजब उनी अन्तर्वार्ताका लागि कुनै कम्पनीमा जान्थे, त्यहाँका मानिसहरू उनकाे मजाक उडाउँथे। लगातारकाे प्रयास, अस्वीकार र तिरस्कारपछि छैठाैँ हप्तामा अर्थात् सेप्टेम्बर २६, १८५५ मा उत्पादन तथा कमिसन मर्चेन्ट कम्पनी, हेविट एण्ड टटलमा सहायक बुककीपरको रूपमा पहिलो काम पाए। प्रशिक्षण अवधिको तीन महिनाले उनले प्रतिमहिना १६ डलर पाए। त्यसपछि पहिलो वर्षमा ३१ डलर प्रतिमहिना पाए भने पछि बढेर ५० डलरसम्म पुगेको थियो।
पहिलो कामले उनी यति उत्साहित र गदगद भएका थिए कि बाँचुन्जेल हरेक वर्ष सेप्टेम्बर २६ मा जब डे मनाउने गर्थे। उनका लागि यो दिन आफ्नो जन्मदिनभन्दा ठूलो महत्व राख्थ्याे। उनी आफ्नो तलबको १० प्रतिशत विभिन्न परोपकारी काममा खर्चन्थे। उनले पहिलो जागिरबाट कसरी सप्लायर्ससँग डिल गर्ने, कसरी बिल पे गर्नेलगायतका खुबीसँगै अन्य थुप्रै खुबीहरू सिके।
दुई वर्षको परिश्रमपछि मन्दीका कारण व्यवसाय खस्किन्छ र एक संस्थापकले फार्म छाड्छन् अनि उनको काम पनि जोनमाथि थुप्रिन्छ। उनले सहायक बुककिपरबाट कम्पनीकाे मुख्य अकाउन्टेन्टकाे जिम्मेवारी पाउँछन्। यतिबेला उनले व्यापार व्यवसायलाई तथा उद्यमी व्यवसायीलाई अझ नजिकबाट नियाल्ने तथा बुझ्ने माैका पाउँछन्।
मन्दीका कारण उक्त कम्पनी बन्द हुने अवस्थामा पुग्छ। दुई वर्षको कार्यअनुभवले जाेनमा भने ठूलो आत्मविश्वास जागृत भइसक्छ। उनी आफ्नै कम्पनी खडा गर्ने याेजनामा थिए। यतिबेला मौरिक क्लार्क उनीसँग जाेडिन्छन् जाे ओहायोमा पढ्दाका साथी थिए र उमेरमा उनीभन्दा १२ वर्ष ठूला थिए।
१८ वर्षको त्यो उमेरमै उनले बुककिपरका रुपमा क्लेभल्याण्डमा ख्याति तथा प्रतिष्ठा कमाइसकेका थिए। मौरिकले पनि व्यापार व्यवसायमा उनकाे काैशल देखिसकेकै कारण हुनुपर्छ, एकदिन उनले जाेनसामु आफूले नयाँ उत्पादनसम्बन्धी व्यवसाय गर्ने सोच बनाएको सुनाए र साझेदारीका लागि प्रस्ताव राखे। केही रकम जुटेपछि क्लार्क र रकफेलरले अन्न, माछामासु, गेडागुडीलगायत खाद्यान्न खरिदबिक्रीको काम सुरु गर्छन्। सुरुवातमा कम्पनी अघि बढाउन निकै कठिन भयो। बाटोमा ग्राहक ढुक्नुपर्ने अवस्था थियो। बिस्तारै व्यवसाय फस्टाउँदै गयो।
जाेनसँग व्यावसायिक गुण तथा क्षमता भरपुर थियो। उनी राम्रो सेल्सम्यानसमेत थिए। उनलाई सबैले मिस्टर रकफेलर सम्बोधन गर्थे। उद्योगका ठूलाठूला परिपक्व व्यवसायी पनि उनलाई सजिलै विश्वास गर्थे। उनीहरूले क्लाइन्ट तुरुन्तै बढाए।
यो बीचमा उनले व्यापार कूटनीति राम्रै जानिसकेका थिए। बुककिपिङदेखि सीपर, कमिसन मर्चेन्ट, उद्योग साझेदार, ड्रिलिङ व्यवसायी, रेलरोड्स कम्पनीलगायत विभिन्न उद्योगीहरूसँगको सक्रिय उठबसपछि उनी आफ्नै कम्पनी खडा गर्ने सोचमा पुगे।
त्यतिबेला रिफाइनरी उद्योग तथा व्यापार विश्वकै लागि एकदमै नयाँ थियो। अरुभन्दा फरक र कठिन बाटो हिँड्न रुचाउने उनले त्यसका कठिनाइ नजरअन्दाज गर्दै भर्खरै बामे सर्दै गरेको रिफाइनरी उद्योगमा प्रवेश गरे। सीमित स्रोतसाधन र चुनौतीका चाङलाई उनले अवसर र धनदौलतको थुप्रो देखे र ती कठिनाइहरूलाई अवसरमा बदले।
सन् १८६३ मा रिफाइनरीमा प्रवेश गरेका उनले १८७० मा आफ्ना भाइ विलियम, हेनरी फ्लयागर, शमुएल एन्ड्रयुजलगायतसँगको साझेदारीमा 'स्ट्यार्न्डर्ड आयल कम्पनी' स्थापना गरे जसको मुख्य संस्थापकका रुपमा पनि उनै थिए। सन् १८८० मा कम्पनी स्ट्यार्न्डर्ड आयलको मुख्यालयलाई न्यूयोर्क सहरमा सारिएको थियो।
विभिन्न उतारचढाव, आर्थिक संकटबीच उनले कम्पनी यस्तो रफ्तारमा अगाडि बढाए कि स्थापनाको केही वर्षमै रिफाइनरी उद्योगमा उनकै हालीमुहाली भयो।
स्थापनाको दश वर्ष अर्थात् १८८० सम्ममा स्ट्यार्न्डर्ड तेलले अमेरिकाको लगभग ९० प्रतिशत तेल रिफाइनरिजमाथि कब्जा गरिसकेको थियो भने सन् १८८२ सम्म आइपुग्दा कम्पनीले अमेरिकी तेल बजारमा आफ्नो एकाधिकार स्थापित गरिसकेको थियो। कम्पनीको नाफामा पनि उछाल थियो भने पुँजी पनि वृद्धि भइरहेको थियो।
यो बीचमा धेरै कम्पनी उनको कम्पनीसँग गाभिए भने कति उनीसँग प्रतिस्पर्धा गर्न नसकेर टाट पल्टिए र रिफाइनरी उद्योगबाटै पलायन भए। त्यतिबेला सीमित स्रोतसाधनका कारण तेल रिफाइनमा लागत बढी पर्थ्यो। लागत बढी हुँदा मूल्य स्वत: वृद्धि हुने नै भयो। तेलको मूल्यमा निकै उतारचढाव तथा मनोमानी चलिरहेका बेला उनले भने रेलरोडसलगायतसँगको मिलेमतोमा अस्वस्थ प्रतिस्पर्धा गरी सस्तो मूल्यमा बेच्न थाले। यसकारण पनि अन्य कम्पनीलाई टिक्न गाह्रो पर्यो। यद्यपि तमाम गैरकानूनी कामका बाबजुद तेल रिफाइनरी उद्योगमा मूल्य स्थिरताको क्रेडिट भने उनैलाई जान्छ।
सन् १९११ सम्म तेल उद्योगमा उनकै कम्पनीको वर्चस्व रह्यो। रिफाइनरी क्षेत्रमा राज गरिरहेको स्ट्यार्न्डर्ड आयलको अस्वस्थ, अप्रतिस्पर्धी, अराजक व्यावसायिक एकाधिकारकै कारण यसपछि भने कम्पनी नै भंग हुने अवस्थामा पुग्छ।
अमेरिकी सर्वोच्च अदालतले स्ट्यार्न्डर्ड आयल कम्पनीले नियम उल्लंघन गरेको भन्दै शर्मन एन्टिट्रष्ट ऐनअन्तर्गत रहेर १९११ मा यसलाई विघटन गरी विभिन्न ३४ भागमा खण्डित गर्ने फैसला सुनायो। यी सबैमा उनको सेयर थियो। यी कम्पनीले केही वर्षमा नै तरक्की गरे। सेयर मूल्य तेब्बर चौबर बढ्यो र उनको सम्पत्ति पनि बढ्यो।
भनिन्छ, १९१३ मा रकफेलरको ९०० मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति थियो र यो त्यतिबेलाको अमेरिकाको जीडीपीको २ प्रतिशत थियो। १९१६ मा, रकफेलरलाई अमेरिकाको पहिलो आधिकारिक अर्बपति घोषित गरियो। उनलाई आधुनिक विश्वकै पहिलो अर्बपतिसमेत मानिन्छ।
१९३७ सम्म, रकफेलरको सम्पत्ति १.४ बिलियन डलर पुगेको थियो। उनले परोपकारका काममा ५ सय मिलियन डलरभन्दा बढी खर्चिए। १९१३ मा उनले रकफेलर फाउन्डेसन खोलेर खाद्यान्नसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गरे। मेडिकल स्थापना, औषधिको उपलब्धता, विभिन्न रोगको अनुसन्धानमा पनि उनले आर्थिक सहयोग गरे। १८९७ मा कम्पनीबाट सेवानिवृत्त भएपछि धार्मिक एवं परोपकारी काममा उनी अझै बढी सक्रिय भएर लागे।
भलै अहिले यो कम्पनी तथा ट्रष्ट छैन तर यसबाटै खण्डित भएर आएका एक्जोन आयल, शेभरन कर्पोरेसन, म्यारथन आयल एण्ड म्यारथन पेट्रोलियम, कोनोकोफिलिप्सलगायत रिफाइनरी कम्पनीहरूले तेल व्यवसायमा आफ्नो प्रभुत्व जमाइ नै रहेका छन्।
२३ मे १९३७ मा ९७ वर्षको उमेरमा 'कर्पोरेट टाइकुन' रकफेलरको निधन भयो। आज पनि उनको परिवार अमेरिकाको धनाढ्य वर्गमै पर्छ। उनको परिवारले अझै पनि उनको फाउन्डेसनमार्फत परोपकारी कामहरू गरिरहेको बताइन्छ।
चाहे पैसा होस् या सहानुभूति, प्रोत्साहन या ज्ञान, लिनुमाभन्दा दिनुमा विश्वास राख्ने रकफेलर शारीरिक होस् या बौद्धिक, जस्तोसुकै श्रम खर्चने श्रमिक सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्थे। पारिवारिक, आर्थिक, शैक्षिक उतारचढावबीच उनले हासिल गरेका उपलब्धि तथा सफलताका कारण आजपर्यन्त उनको सिद्धान्त र मार्ग पछ्याउने धेरै छन्।
पेट्रोलियम उत्पादनको केन्द्रमै द्वन्द्व हुँदा पनि किन बढेन मूल्य, कसले बदल्यो बजारको गणित र भूगोल?