शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजारमा उतारचढावबीच सामान्य गिरावट, ३ अर्ब ११ करोडको कारोबार

मंगलबार, फागुन ८ २०८०
सेयर बजारमा उतारचढावबीच सामान्य गिरावट, ३ अर्ब ११ करोडको कारोबार

काठमाडौं- सुधारको अपेक्षाविपरीत सेयर बजार पुन: उतारचढावबीच गिर्दो अवस्थामा देखिएको छ। बजारको अवस्थासँग विश्वस्त हुन नसकेका संगठित लगानीकर्ताका साथै नवप्रवेशीको समेत विश्वास बजारले जित्न सकेको छैन। 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि थप ओरालो लागेको सेयर बजार निरन्तर उतारचढावको अवस्थाबीच तलतिर नै देखिन्छ। सेयर बजारमा ओरालो यात्रा थामिएर केही दिनको कारोबार वृद्धितर्फ देखिने गरेको भए पनि स्थायी सुधारको आधार देखिँदैन। 

यो साता पहिलो कारोबारमा आइतबार २७.२१ अंकले घटेर २०३४.८२ बिन्दुमा झरेको बजार मंगलबार १.७६ अंकले घटेर २०३३.०६ बिन्दुमा पुगेको छ। ९० कम्पनीको मात्र सेयर मूल्य बढ्दा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार रुपैयाँको कारोबार भएको छ। १५० कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पहिलो कारोबारमा आइतबार १०.५० अंकले घटेको बजार सोमबार १५.३३ अंकले बढेको थियो। मंगलबार बजार ३०.५६ अंकले घटेर २०७०.५९ बिन्दुमा झरेको थियो। बुधबार ५.९१ अंकले बढेको बजार बिहीबार १४.४६ अंकले घटेको थियो। 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गएको साता सोमबार साँझ सावर्जनिक गरेपछि पनि बजारमा लगानीकर्ताको विश्‍वास गुमेको छ। जसमा लगानीकर्ताहरूले आश गरेअनुरुप व्यवस्थामा कुनै परिवर्तन भएन। 

बैंकिङ क्षेत्रका समस्याका विषयमा समाचारहरू आइरहँदा पनि अर्थतन्त्रको अवस्था कता जान्छ भन्ने अनुमान लगानीकर्ताले गर्न सकेका छैनन्। केही बैंकमा देखिएको समस्याले अन्यतर्फ पनि विश्वासको वातावरण गुमिरहेको संगठित लगानीकर्ताहरू नै बताउँछन्। 

अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा रहेका लगानीकर्ताहरू अहिले निराश देखिएका छन्। उनीहरू अहिले बजारको अवस्था आँकलन गर्दै पर्ख र हेरकै स्थितिमा देखिन्छन्।  


प्रकाशित : मंगलबार, फागुन ८ २०८०१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend