आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

राइनासकोटमा लालीगुराँसले आकर्षित गर्दै पर्यटक

images
सोमबार, फागुन ७ २०८०
images
राइनासकोटमा लालीगुराँसले आकर्षित गर्दै पर्यटक

राइनासकोट ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक अध्ययनका लागि उपयुक्त ठाउँ हो। यातयातको सुविधा रहेकाले यहाँसम्म पर्यटकका सवारी साधनमा सहज रुपमा पुग्न सक्छन्।

images
images

लमजुङ- समुद्री सतहबाट एक हजार सात सय ७४ मिटर उचाइमा रहेको रमणीय राइनासकोटमा लालीगुराँसले पर्यटकलाई आकर्षित गर्न थालिएको छ। लमजुङको राइनास नगरपालिका-९ स्थित राइनासकोटमा आन्तरिक पर्यटकलाई लालीगुराँसले आकर्षित गर्न थालिएको हो।

images
images
images

समयअगावै फुलेका लालीगुराँसले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको राइनास नगरपालिका प्रमुख एवं राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर गुरुङले बताए। माघको पहिलो सातादेखि लालीगुराँस फुल्न थालेको भन्दै अहिले यहाँ सञ्चालित घरवासका साथै घुम्न आउने पर्यटकलाई लोभ्याइरहेको उनको भनाइ थियो।

images
images

'यहाँ रहेका सांस्कृतिक, ऐतिहासिकस्थल, संस्कृति र यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाले पर्यटकलाई आकर्षित गर्ने गरेपनि यतिबेला लालीगुराँस पर्यटकका लागि थप आकर्षणको केन्द्र बनिरहेको छ', गुरुङले भने। चैत-बैशाखमा फुल्ने लालीगुराँस समय अगावै फुलेपछि हेर्नका लागि पर्यटक आउने गरेका उनको भनाइ थियो। उनका अनुसार यहाँ आइपुगेका अधिकांशले लालीगुराँससँग फोटो खिच्ने र भिडियो बनाएर रमाउने गर्दछन्।

images
images

गत शनिबार लमजुङ सदरमुकाम बेँसीसहरमा रहेको जनविकास कलेजबाट साथीसँग पिकनिक आएका भूमिका गुरुङले पहिलो पटक आफू यहाँ आएको भन्दै यतिधेरै लालीगुराँस फुलेको देख्दा निकै रमाइलो लागेको बताए। कलेजबाट आफूसहित ६० जना यहाँ आएको उनको भनाइ थियो।

नगरप्रमुख एवं होमस्टे व्यवस्थापन समितिका अध्यक्ष गुरुङले यतिबेला पर्यटक आगमन भइरहेको जनाउँदै घरवासमा बस्ने भन्दा घुम्ने, पिकनिक खाने प्रयोजनका लागि बढी आउने गरेको बताए। उनका अनुसार शुक्रबार, शनिबार र बिदाका दिनमा दुई सयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन्।

भूकम्पले यहाँका घरहरु भत्किएर पुनःनिर्माण भएपछि विसं २०७५ फागुनदेखि ११ घरबाट घरबास सुरुआत भएकामा यतिबेला सिङ्गो गाउँ (१७ घर) मा घरवास सञ्चालन भइरहेको गुरुङले जानकारी दिए। पछिल्लो समय पर्यटकको उल्लेख्य आगमन हुन थालेपछि यहाँका सबै घरमा घरबास सञ्चालन गरिएको उनको भनाइ थियो। यहाँका स्थानीयवासीले यही पेसाबाट आम्दानी जीविकोपार्जन गरिरहेका नगरप्रमुख गुरुङले बताए।

यहाँ सञ्चालित घरबासबाट वार्षिक करिब रु तीन-चार लाख आम्दानी हुँदै आएको समितिका उपाध्यक्ष विष्णु गुरुङले बताए। 'घरवास सञ्चालन अघि यहाँ विकासका पूर्वाधार थिएन । गाउँबँेसी गर्न पनि समस्या थियो', उनले भने, 'खेतीपातीबाट उत्पादित अन्नले तीन/चार महिना मात्रै पुग्थ्यो। अहिले होमस्टे सञ्चालनमा आएपछि यहीँ व्यवसायबाट मनग्य आम्दानी गर्न थालेका छन्।' होमस्टे सञ्चालन गरेसँगै स्थानीयवासीको जीवनस्तरमा सुधार आएको उपाध्यक्ष गुरुङको भनाइ थियो।

पालिकाको सहयोगमा यहाँ सञ्चालित घरबासमा पर्यटन पूर्वाधार विकासका काम भइरहेको नगरप्रमुख गुरुङले जानकारी दिनुभयो । उहाँले कृषि र पर्यटनलाई पालिकाले पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेको बताए। राइनासकोटबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छे, मनास्लु, बौद्ध, गणेश हिमालसहित १८ वटा हिमाल देख्न सकिन्छ। नेपाल एकीकरणको सुरुका विन्दुका साथै प्राकृतिक रूपमा अलौकिक दृश्यले भरिपूर्ण ठाउँ भएको स्थानीय कताउँछन्। विश्वकै पहिलो योग स्तम्भ पनि राइनासकोटमा छ।

साथै यहाँ राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेव, वीरभक्ति थापाको शालिकलगायत ऐतिहासिकस्थल रहेका नगरप्रमुख गुरुङले जानकारी दिए। बाइसेचौबिसे राज्यकालमा लमजुङका राजा यशोबह्म शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास छ। राइनासकोटलाई भिटोफ नेपालले सन् २०१८ मा गन्तव्य गाउँ घोषणा गरेको थियो। 

विसं २०७४ मा गण्डकी प्रदेश सरकारले घुम्नुपर्ने ११० उत्कृष्ट गन्तव्यमध्ये राइनासकोट परेको थियो भने विसं २०७६ मा नेपालकै उत्कृष्ट होमस्टेमा परेको थियो। 

गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ सङ्ग्राहालय रहेको छ। यहाँ गुरुङ समुदायको संस्कार, संस्कृतिदेखि घाँटु, कृष्ण चरित्रलगायत नृत्य प्रस्तुत गरिन्छ। घरबासमा आउने पर्यटकका लागि एक हजार एकसय ५० रूपैयाँमा खानाको व्यवस्था गरिएको समितिका अध्यक्ष गुरुङले बताए। उनका अनुसार घरवासमा आएका पर्यटकले खाजा, चिया, बेलुकाको खाना र भोलिपल्ट बिहान खाजा खान पाउँछन्। 

पर्यटकलाई कोदाको सेलरोटी तथा मकै, गेडागुडीसहित तामा, गुन्द्रुक, भटमासको अचारका परिकार दिने गरिएको घरबास सञ्चालकको भनाइ थियो। पर्यटकले स्थानीयरुपमा कोदोबाट तयार गरिएको लोकल रक्सीको स्वाद पनि लिन पाउँछन्।

स्थानीय जानकारका अनुसार नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका थिए। राइनासकोट ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक अध्ययनका लागि उपयुक्त ठाउँ हो। यातयातको सुविधा रहेकाले यहाँसम्म पर्यटकका सवारी साधनमा सहज रुपमा पुग्न सक्छन्।

लमजुङ-तनहुँको सिमाना लमजुङ सुन्दरबजार नगरपालिका-७ पाउदी बजारबाट राइनास नगरपालिका-८ हुँदै करिब १३ किलोमिटर सडक पार गरेपछि यहाँ पुग्न सकिन्छ। रासस


प्रकाशित : सोमबार, फागुन ७ २०८०१५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend