आइतबार, वैशाख २३ गते २०८१    
images
images

बागलुङमा बढ्न थाले पर्यटक, चलायमान हुन थाले घरबास

images
images
images
बागलुङमा बढ्न थाले पर्यटक, चलायमान हुन थाले घरबास

पर्यटकीय क्षेत्र भएकै ठाउँमा घरबास सञ्चालनमा रहेको हुँदा पर्यटकलाई खान, बस्नको लागि सहज भएको छ भने स्थानीयवासीलाई आयआर्जनको माध्यम बनेको छ।

images
images

ढोरपाटन- पर्यटन याम सुरु भएसँगै बागलुङका घरबास (होम-स्टे) मा पर्यटक बढ्न थालेका छन्। दसैँ तिहारको समयमा भरिभराउ भएका घरबास जाडोयाम सुरु भएपछि पाहुना कम भएका थिए। माघ दोस्रो सातादेखि पुनः घरबासमा पर्यटक आउन थालेका हुन्।

images
images
images

बागलुङमा आधिकारिक रुपमा दर्ता भएका २८ सामुदायिक तथा व्यक्तिगत घरबास छन् भने केही दर्ता बिनानै सञ्चालनमा छन्। जिल्लाको बागलुङ नगरपालिका-१० भुकण्डेमा सबैभन्दा बढी घरबास भएको पाइन्छ। 

images

कुण्डेमा १५ वटा सामुदायिक घरबास रहेका छन्। काठेखोल, बरेङ, ढोरपाटन, लगायतका ठाउँमा पनि घरबास सञ्चालनमा छन्। पछिल्लो समय सबैभन्दा बढी चल्ने मध्येमा भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबास र काठेखोला गाउँपालिका-३ बेलढुंगामा रहेको बेलढुंगा सामुदायिक घरबास पर्छन्। भकुण्डेबाट पूर्वदेखि पश्चिमसम्म अनगिन्ती हिमशृृङ्खलाको अवलोकनसँगै उच्च पहाडी क्षेत्रको दृश्यावलोकन गर्न सकिने र बेलढुंगाबाट हिमालीसँगै पहाडी जिल्लाका धेरै ठाउँ देख्न सकिने हुँदा पर्यटक घुम्न आउने गर्छन्।

images

पर्यटकीय क्षेत्र भएकै ठाउँमा घरबास सञ्चालनमा रहेको हुँदा पर्यटकलाई खान, बस्नको लागि सहज भएको छ भने स्थानीयवासीलाई आयआर्जनको माध्यम बनेको छ। बागलुङ नगरपालिका-१० भकुण्डेका घरबास सञ्चालक याम थापाले आन्तरिकसँगै बाह्य पर्यटक आउन थालेको बताए। आन्तरिक पर्यटक एक दिन आउने र बास बसेर जाने गरेको भन्दै विदेशी पाहुना केही दिन बस्ने उनको भनाइ छ।

images
images

भकुण्डेमा रहेको बराह ताल र भ्युटावरमा चढेर रमाउनका लागि प्रत्येक साता दुई दिन पर्यटकको बढी चहलपहल हुने थापाले बताए। पर्यटक आउन थालेपछि घरबास संचालकहरुको आय आर्जनसमेत राम्रो बन्दै गएको उनी सुनाउँछन्।

थापाका अनुसार महिनामा करिब पाँच सय पर्यटक घरबासमा बास बस्ने गरी आउने गरेका छन्। उनले भने, 'अहिले पर्यटक आउन थालेका छन्, बर्खामा सुनसान जस्तै भएको थियो, दसैँ तिहारका बेला धेरै आए, जाडो भएर होला बीचमा निकै कम भएको थियो, विदेशी पर्यटक पनि आइरहेका छन्, अमेरिकन र कोरियन पर्यटक बढी आउँछन्, घरबासलाई व्यवस्थित बनाउँदै गएका छौँ, त्यसले गर्दा पनि मान्छेहरु एक रात भए पनि बस्नका लागि यहाँ आउनुहुन्छ, उहाँहरुलाई जति सक्दो सन्तुष्ट बनाएर पठाउने कोशिस गरिरहेका छौँ।'

बेलढुंगा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले घुम्न आउने पर्यटकको सङ्ख्या बढेपछि बास बस्न आउने पाहुना पनि विस्तारै बढ्न थालेको बताए। बाह्रैमहिना नियमित पर्यटक नआउँदा घरबास सञ्चालनमा समस्या भएको सुनाउँदै पर्यटकीय याम सुरु भएपछि घरबासमा सबै पाहुना आउने उनको भनाइ छ। घरबासलाई पाहुनाको चाहना र माग अनुसार व्यवस्थित बनाएको सुनाउँदै धेरै जस्तो पर्यटकले बजारको जस्तो सुविधा खोज्ने गरेको श्रीस बताउँछन्।

बेलढुंगामा महिनामा झण्डै एक हजार पाँच सय पर्यटक आउने भए पनि कम मात्रै घरबासमा आउने उनको भनाइ छ। 'घरबास सञ्चालनमा नआउँदा धेरै पर्यटकलाई समस्या थियो, घुम्दाघुम्दै रात पर्‍यो भने बजार फर्किन समस्या हुन्थ्यो, गाउँका गोठमा बास बस्नुपर्ने स्थिति थियो, तर अहिले पर्यटकको त्यो समस्यालाई हामीहरुले समाधान गरेका छौँ' अध्यक्ष श्रीसले भने, 'बेला-बेला बाहिरबाट पनि पर्यटकहरु आउँछन्, अपेक्षा अनुसार पाहुना आउन सकेका छैनन् तर समग्रमा अहिले आइराखेको सङ्ख्या राम्रो हो, पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्न पनि लागिपरेका छौँ, पछिपछि धेरै आउने अपेक्षा राखेका छौँ।'

अतिथि सत्कार घरबास भकुण्डेकी उपाध्यक्ष इन्द्रा थापा हरेक हप्ता शुक्रबार र शनिबार पाहुनाले घरबास भरिभराउ हुने बताए। अन्य समयमा पनि निरन्तर पर्यटक आइराखेको भन्दै यहाँका घरबास सञ्चालकले लगानीसमेत गरिरहेको उनको भनाइ छ। खासगरी बागलुङ बजारबाट धेरै पाहुना आउने हुँदा घरबास सञ्चालनमा समस्या नभएको थापा बताउँछन्। माघदेखि हालसम्म हजारौँ पाहुनालाई सेवा दिएको उनले बताए।

उपाध्यक्ष थापाले भने, 'पाहुना आउन थालेपछि लगानी गरिरहेका छौँ, छुट्टै घर बनायौँ, अन्य व्यवस्थापन पनि गरिरहेका छौँ, धेरैले बजारको जस्तो सुविधा खोज्छन्, गाउँमा ठिकै खालको सुविधा छ, धेरैले नेट खोज्ने हुँदा नेटको पनि व्यवस्था मिलाएका छौँ, हामीहरुले स्थानीय उत्पादन कोदोको सेलरोटी, ढिँडो, सिन्कीको अचार, लोकल कुखुरा, कालो सुङ्गुरको मासु पाहुनालाई उपलब्ध गराउने गरेका छौँ, यहाँ ठूलो टिम आयो भने १५ वटा घरबास छन्, सबैलाई मिलाएर राख्छौँ, यहाँ आउने कोही पनि पाहुनाले बास नपाएर समस्यामा पर्ने अवस्था छैन।' रासस

images

प्रकाशित : आइतबार, फागुन ६ २०८००५:१०

प्रतिक्रिया दिनुहोस