शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

१५ करोड घाटामा रहेको बोटलर्स नेपालको दोस्रो बजारमा शंकास्पद कारोबार

आइतबार, फागुन ६ २०८०
१५ करोड घाटामा रहेको बोटलर्स नेपालको दोस्रो बजारमा शंकास्पद कारोबार

कम्पनी घाटामा जाने तर सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नुले इन्साइडर ट्रेडिङको आशंका गरिएको छ।

काठमाडौं- नेपालमा कोकाकोला उत्पादन तथा वितरण गर्दै आएका बोटलर्स नेपालका दुवै कम्पनी तराई र बालाजु नोक्सानीमा गएको विवरण आएको छ। 

बालाजु प्लान्ट सञ्चालन गर्ने बोटलर्स नेपाल बालाजु चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड १५ लाख रुपैयाँ नोक्सानीमा गएको छ। तर सेयर मूल्यमा भने आइतबार पनि सकारात्मक सर्किट लागेको छ।

लगातार बढेको बोटलर्स नेपाल बालाजुको सेयर मूल्य आइतबारसम्म एक वर्षयताकै महँगो भएको छ। कम्पनीको सेयर मूल्य आइतबार ९ सय ३२ रुपैयाँले बढेर १० हजार २ सय ४२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। जुन मूल्य एक वर्षयताकै बढी हो। 

कम्पनी घाटामा जाने तर सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नुले इन्साइडर ट्रेडिङको आशंका गरिएको छ।

बोटलर्स नेपाल बालाजुको १९ लाख ४८ हजार ८ सय ८७ कित्तामात्रै सेयर सूचीकृत रहेको छ। १९ अर्ब ९६ करोड रुपैयाँ बजार पुँजीकरण रहेको कम्पनीको ७५ प्रतिशत सेयर प्रमोटरको हातमा छ भने २५ प्रतिशतमात्रै जनताको हातमा छ। सोही कारण पनि कम्पनीमा धेरै खेलोफड्को हुने गरेको छ। जसको असर घाटामा जाँदा पनि सर्किट लागेको छ।

bnl.JPG

गत वर्ष यस अवधिमा कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा थियो। दोस्रो त्रैमासमा बिक्री आम्दानी ४ अर्ब ५८ करोड रुपैयाँ छ। गत आर्थिक वर्षको यसै अवधिमा यस्तो आम्दानी ५ अर्ब १९ करोड थियो। आम्दानी घट्दा वित्तीय लागत भने दोबर भएको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ४२ लाख रुपैयाँ वित्तीय खर्च थियो भने अहिले १५ करोड ४९ लाख रुपैयाँ छ। कम्पनी नोक्सानीमा गएसँगै वार्षिक प्रतिसेयर आम्दानी १४९ रुपैयाँ ऋणात्मक देखिएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ भने ३ हजार १ सय २० रुपैयाँ छ।

चितवनमा रहेको प्लान्ट सञ्चालन गर्ने बोटलर्स नेपाल तराई पनि ६ महिनामा ७ करोड ४१ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ। जब कि गत आर्थिक वर्षको यसै अवधिमा १५ करोड ३२ लाख रुपैयाँ नाफामा थियो। 

कम्पनीको बिक्री आम्दानी दोस्रो त्रैमासमा ३ अर्ब ६८ करोड रुपैयाँ छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ८६ करोड थियो। वित्तीय लागत भने पहिले ११ करोड ३७ लाख थियो भने अहिले १४ करोड ५ लाख छ।

बोटलर्स नेपाल तराई नोक्सानीमा गएसँगै प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२३ रुपैयाँ ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ३ हजार १७३ रुपैयाँ छ। बोटलर्स नेपाल तराईको मूल्य आइतबार बजार बन्द हुँदा प्रतिकित्ता १२ हजार रुपैयाँमा कारोबार भएको छ।


प्रकाशित : आइतबार, फागुन ६ २०८०१५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend