शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

एकदिन ओरालो लागेर पुन: थामियो सेयर बजार, ४ अर्ब २५ करोडको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २ २०८०
एकदिन ओरालो लागेर पुन: थामियो सेयर बजार, ४ अर्ब २५ करोडको कारोबार

काठमाडौं- मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि मंगलबार ओरालो लागेको सेयर बजार बुधबार पुन: सामान्य अंकले बढेको छ।सुधारतर्फको संकेत गरेको सेयर बजार केन्द्रीय बैंकको नीतिमा कुनै फेरबदल नहुँदा मंगलबार राताम्य भएको थियो। 

उतारचढावमा रहेको सेयर बजारमा ओरालो यात्रा थामिएर गएको साता लगातार चार दिनको कारोबार वृद्धि देखिएको थियो। यो साता आइतबार घटेको बजार सोमबार भने वृद्धितर्फ नै लागेपनि मौद्रिक नीतिको समीक्षापछि मंगलबार राताम्य भयो। बुधबार भने बजार थामिएको हो। 

बुधबार ५.९१ अंकले बढेर बजार २०७६.५० बिन्दुमा पुगेको छ। १३२ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब २५ करोड २७ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ। १११ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सोमबार साँझ सावर्जनिक गरेको हो। जसमा लगानीकर्ताहरूले आश गरेअनुरुप व्यवस्थामा कुनै परिवर्तन भएन। त्यसले मंगलबारको कारोबारमा प्रत्यक्ष प्रभाव देखिएको थियो। त्यसपछि बजार पुन: उतारचढावकै अवस्थामा देखिन्छ। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पर्खाइमा लगानीकर्ताहरू रहेका थिए। बैंकहरूको घट्दो नाफा, पुँजीकोषमा परेको दबाब, न्यून कर्जा प्रवाह र अधिक लगानीयोग्य रकमलगायतका समस्याको समाधान राष्ट्र बैंकमार्फत निष्कने आशमा उनीहरू थिए।

अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा रहेका लगानीकर्ताहरू अहिले निराश देखिएका छन्। उनीहरू अहिले बजारको अवस्था आँकलन गर्दै पर्ख र हेरकै स्थितिमा देखिन्छन्।  

गएको साता सुधारतर्फको लय देखाएको सेयर बजार यो साता पहिलो कारोबारमा घटेपनि दोस्रो कारोबारमा सुधारतर्फ नै देखिएको थियो।साताको पहिलो कारोबारमा आइतबार १०.५० अंकले घटेको बजार सोमबार १५.३३ अंकले बढेको थियो। मंगलबार बजार ३०.५६ अंकले घटेर २०७०.५९ बिन्दुमा झरेको थियो।  


प्रकाशित : बुधबार, फागुन २ २०८०१५:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend