काठमाडौं- सर्वोत्तम सिमेन्टको सेयरमा उद्योगको प्रभावित क्षेत्रका बासिन्दाले माग गरेभन्दा कम आवेदन दिएका छन्।
कुल निष्कासनको २ प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता सेयर स्थानीय बासिन्दाका लागि निष्कासन गरेकोमा २ लाख ४८ हजार ५ सय ३ कित्ताका लागि मात्रै आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।
कम्पनीले बुक बिल्डिङ प्रकृयामार्फत पाएको ३६०.९० रुपैयाँ मूल्यमा सेयर आवेदन खुला गरेकोमा १ हजार २ सय २४ स्थानीय आवेदकले मात्रै आवेदन दिएका छन्। कुल ८ करोड ९६ लाख ८४ हजार रुपैयाँ बराबरको मूल्यका लागि मात्रै आवेदन परेको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
यस कम्पनीले विदेशमा रहेका नेपालीहरुलाई यसअघि नै सेयर बाँडफाँट गरेको छ।
बुक विल्डिङ अन्तर्गत न्यूनतम ५० कित्ताको दरले बाँडफाँट गर्नुपर्ने व्यवस्था रहेको हुँदा धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम मागभन्दा कम सेयर लागिमात्र आवेदन प्राप्त रीतपूर्वक प्राप्त भएका २ लाख ४८ हजार ४ सय ७० कित्ता सेयर १ हजार २ सय २४ जना आवेदकलाई न्यूनतम ५० कित्तामा नघट्ने बाँडफाँट गरिएको छ।
साथै, उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको ९ लाख ३० हजार कित्ता सेयरमध्ये बिक्री नभएको ६ लाख ८१ हजार ५३० कित्ता सेयर सर्वसाधारण (सामूहिक लगानी कोष र कम्पनीका कर्मचारी समेत) को लागि छुट्याइएको सेयरमा थप गरी सर्वसाधारणका लागि सेयर निष्कासन गरिने विक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।
तोकिएको समयावधिभित्र पाल्पा जिल्लाका ६ वटा संकलन केन्द्रहरु र नलपरासी जिल्ला (बर्दघाट सुस्ता पश्चिम) का विभिन्न ५ वटा संकलन केन्द्रहरु गरी जम्मा ११ वटा संकलन केन्द्रहरु मार्फत १ हजार २ सय २४ जना आवेदकहरुबाट १ हजार २ सय २४ वटा आवेदनहरु प्राप्त भएको र प्राप्त भएका आवेदन उपर आवश्यक रुजु तथा भेरिफिकेशन गर्दा ५ जना आवेदकहरुले १० अंकले भाग नजाने गरी सेयर आवेदन गरेको देखिएकाले निज आवेदकहरुले आवेदन गरेको जम्मा सेयर संख्या ६८३ मध्येबाट १० अंकले भाग नजाने गरी प्राप्त भएको ३३ कित्ता सेयर सेयर समेत रद्द गरिएको र यसरी रितपूर्वक प्राप्त भएको आवेदनका आधारमा २ लाख ४८ हजार ४७० कित्ता सेयर बाँडफाँट गरिएको जनाइएको छ।