शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि निराश देखिए लगानीकर्ता, राताम्य बन्यो सेयर बजार

मंगलबार, फागुन १ २०८०
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि निराश देखिए लगानीकर्ता, राताम्य बन्यो सेयर बजार

काठमाडौं- मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि सेयर बजारमा लगानीकर्ताहरू विश्वस्त हुन सकेका छैनन्। जसले सुधारतर्फको संकेत गरेको बजार पुन: धरमराएको छ। विशेषगरी संगठित लगानीकर्ताहरूले माग गरेअनुसार केन्द्रीय बैंकको नीतिमा कुनै फेरबदल भएन। 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सोमबार साँझ सावर्जनिक गरेको हो। जसमा लगानीकर्ताहरूले आश गरेअनुरुप व्यवस्थामा कुनै परिवर्तन भएन। त्यसले मंगलबारको कारोबारमा प्रत्यक्ष प्रभाव देखिएको छ।

यसअघि नै राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामार्फत सेयर कर्जामा जोखिम भार घटाएको थियो। जसले बजारमा केही समय सकारात्मक प्रभाव परेको थियो। २०७८ सालको मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले सेयर कर्जाको जोखिमभार बढाएर १५० प्रतिशत पुर्‍याएको थियो। जुन यसअघिको समीक्षामा सेयर कर्जाको जोखिमभार राष्ट्र बैंकले १५० बाट १२५ मा झारेको थियो। अहिले अर्धवार्षिक समीक्षामा भने फेरबदल भएन।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पर्खाइमा लगानीकर्ताहरू रहेका थिए। बैंकहरूको घट्दो नाफा, पुँजीकोषमा परेको दबाब, न्यून कर्जा प्रवाह र अधिक लगानीयोग्य रकमलगायतका समस्याको समाधान राष्ट्र बैंकमार्फत निष्कने आशमा उनीहरू थिए।

अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा रहेका लगानीकर्ताहरू अहिले निराश देखिएका छन्। उनीहरू अहिले बजारको अवस्था आँकलन गर्दै पर्ख र हेरकै स्थितिमा देखिन्छन्।  

गएको साता सुधारतर्फको लय देखाएको सेयर बजार यो साता पहिलो कारोबारमा घटेपनि दोस्रो कारोबारमा सुधारतर्फ नै देखिएको थियो।साताको तेस्रो कारोबारमा मंगलबार बजार ३०.५६ अंकले घटेर २०७०.५९ बिन्दुमा झरेको छ। ४० कम्पनीको मात्र सेयर मूल्य बढ्दा ४ अर्ब ६६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ। २०३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

उतारचढावमा रहेको सेयर बजारमा ओरालो यात्रा थामिएर गएको साता लगातार चार दिनको कारोबार वृद्धि देखिएको थियो। यो साता आइतबार घटेको बजार सोमबार भने वृद्धितर्फ नै लागेपनि मौद्रिक नीतिको समीक्षापछि मंगलबार राताम्य भयो। 

आइतबार १०.५० अंकले घटेको बजार सोमबार १५.३३ अंकले बढेर २१०१.१६ बिन्दुमा पुगेको थियो। गएको साता आइतबार ५.३१ अंकले घटेको सेयर बजार सोमबार १४.५७ अंकले बढेको थियो। मंगलबार ९.४४ अंकले बढेको बजार बुधबार पनि ४.९२ अंकले बढेको थियो। बिहीबारसमेत बजारले वृद्धितर्फ नै साथ दिँदा ५.७४ अंकले बढेर २०९६.३८ बिन्दुमा पुगेको थियो।


प्रकाशित : मंगलबार, फागुन १ २०८०१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend