शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजारमा दोहोरो अंकको वृद्धि, पुन: २१०० बिन्दुमाथि

सोमबार, माघ २९ २०८०
सेयर बजारमा दोहोरो अंकको वृद्धि, पुन: २१०० बिन्दुमाथि

काठमाडौं- गएको साता सुधारतर्फको लय देखाएको सेयर बजार यो साता पहिलो कारोबारमा घटेपनि दोस्रो कारोबारमा सुधारतर्फ देखिएको छ। 

उतारचढावमा रहेको सेयर बजारमा ओरालो यात्रा थामिएर गएको साता लगातार चार दिनको कारोबार वृद्धि देखिएको थियो। यो साता आइतबार घटेको बजार सोमबार भने वृद्धितर्फ नै लागेको हो। 

आइतबार १०.५० अंकले घटेको बजार सोमबार १५.३३ अंकले बढेर २१०१.१६ बिन्दुमा पुगेको छ। १९९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ। ४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता आइतबार ५.३१ अंकले घटेको सेयर बजार सोमबार १४.५७ अंकले बढेको थियो। मंगलबार ९.४४ अंकले बढेको बजार बुधबार पनि ४.९२ अंकले बढेको थियो। बिहीबारसमेत बजारले वृद्धितर्फ नै साथ दिँदा ५.७४ अंकले बढेर २०९६.३८ बिन्दुमा पुगेको थियो।

अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा लगानीकर्ताहरू रहेका छन्। उनीहरू अहिले बजारको अवस्था आँकलन गर्दै पर्ख र हेरकै स्थितिमा देखिन्छन्। 

बजार निरन्तर उतारचढावपूर्ण स्‍थितिमा नै देखिन्छ। लगानीकर्ताले अपेक्षा गरेअनुसार निरन्तर वृद्धितर्फ नलागे पनि बजारले २१०० को बिन्दुलाई टेकोको रुपमा लिएको देखिन्छ। बजार २००० र २१०० बिन्दु वरिपरि नै देखिन्छ। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पर्खाइमा समेत संगठित लगानीकर्ताहरू रहेका छन्। बैंकहरूको घट्दो नाफा, पुँजीकोषमा परेको दबाब, न्यून कर्जा प्रवाह र अधिक लगानीयोग्य रकमलगायतका समस्याको समाधान खोज्ने दबाबमा राष्ट्र बैंक रहेको छ।


प्रकाशित : सोमबार, माघ २९ २०८०१५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend