शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजारमा पर्ख र हेरको सोचमा लगानीकर्ता, सुधारतर्फको आश अझै धरमर

आइतबार, माघ २८ २०८०
सेयर बजारमा पर्ख र हेरको सोचमा लगानीकर्ता, सुधारतर्फको आश अझै धरमर

काठमाडौं- गएको साता सुधारतर्फको लय देखाएको सेयर बजार यो साता पहिलो कारोबारमा नै घटेको छ। सुधारतर्फ जाने अपेक्षाविपरीत उतारचढावमा रहेको सेयर बजारमा ओरालो यात्रा थामिएर गएको साता लगातार चार दिनको कारोबार वृद्धि देखिएको थियो। तर यो साता सुधारको अवस्था निरन्तर हुन सकेन। 

आइतबार १०.५० अंकले घटेर बजार २०८५.८२ बिन्दुमा झरेको छ। ९१ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। १४८ कम्पनीको सेयर मूल्य घटेको बजारमा ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता आइतबार ५.३१ अंकले घटेको सेयर बजार सोमबार १४.५७ अंकले बढेको थियो। मंगलबार ९.४४ अंकले बढेको बजार बुधबार पनि ४.९२ अंकले बढेको थियो। बिहीबारसमेत बजारले वृद्धितर्फ नै साथ दिँदा ५.७४ अंकले बढेर २०९६.३८ बिन्दुमा पुगेको थियो।

अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा लगानीकर्ताहरू रहेका छन्। उनीहरू अहिले बजारको अवस्था आँकलन गर्दै पर्ख र हेरकै स्थितिमा देखिन्छन्। 

बजार निरन्तर उतारचढावपूर्ण स्‍थितिमा नै देखिन्छ। लगानीकर्ताले अपेक्षा गरेअनुसार निरन्तर वृद्धितर्फ नलागे पनि बजारले २१०० को बिन्दुलाई टेकोको रुपमा लिएको देखिन्छ। बजार २००० र २१०० बिन्दु वरिपरि नै देखिन्छ। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पर्खाइमा समेत संगठित लगानीकर्ताहरू रहेका छन्। बैंकहरूको घट्दो नाफा, पुँजीकोषमा परेको दबाब, न्यून कर्जा प्रवाह र अधिक लगानीयोग्य रकमलगायतका समस्याको समाधान खोज्ने दबाबमा राष्ट्र बैंक रहेको छ।


प्रकाशित : आइतबार, माघ २८ २०८०१५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend