शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

हेजिङ कार्यान्वयन गर्दै विदेशी लगानी ल्याउने बाटाे खुलाउनेगरी मौद्रिक नीतिको समीक्षा ल्याउन जोड

बुधबार, माघ १७ २०८०
हेजिङ कार्यान्वयन गर्दै विदेशी लगानी ल्याउने बाटाे खुलाउनेगरी मौद्रिक नीतिको समीक्षा ल्याउन जोड

काठमाडौं- नेपाल बैंकर्स संघले विदेशी लगानी र हेजिङसँग सम्बन्धित विषयमा छलफल आयोजना गरेको छ। मौद्रिक नीति २०८०/८१ मा भएका केही नीतिगत व्यवस्था र त्यसका कार्यान्वयनका पक्षहरूको बारेमा अन्तरक्रिया तथा हेजिङसँग सम्बन्धित विषयमा छलफल गरिएको हो।  

कार्यक्रम संघ र युएसएड ट्रेड एन्ड कम्पेटिभनेसको संयुक्त आयोजना गरिएको थियो। सरोकारवालाहरूले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको दोस्रो त्रैमासिक रिपोर्टमा विदेशी लगानी ल्याउन सकिने बाटोतर्फ केन्द्रित गर्न माग गरेका छन्। 

कार्यक्रममा संघका अध्यक्ष सुनिल केसीले नेपालको आर्थिक विकासको लक्ष्य, अन्तर्राष्ट्रिय जगतमा गरिएको प्रतिबद्धता परिपूर्तिको लागि ठूलो लगानी खाँचो पर्न जाने परिस्थितिमा बाह्य लगानीलाई देशमा कसरी भित्र्याउन सकिन्छ भन्ने विषय महत्वपूर्ण रहेको बताए।

नेपालले लिएको दिगो विकासको लक्ष्य परिपूर्तिको लागि पनि नेपालमा ठूलो स्रोत चाहिने र देश भित्रका बैंक तथा वित्तीय संस्थाले मात्र त्यसको परिपूर्ति गर्न नसक्ने परिस्तिथिमा वैदेशिक लगानी अपरिहार्य रहेको अध्यक्ष केसीले बताए। 

कार्यक्रममा पूर्वसचिव शिशिर कुमार ढुङ्गानाले हेजिङसँग सम्बन्धित नीति कार्यान्वयनका लागि के कस्ता प्रयासहरू भैरहेका छन्, हालसम्म सम्पन्‍न भएका कार्यहरू, नीति कार्यान्वयनको जिम्मेवार निकाय, हेजिङ सुविधा प्राप्‍त गर्न अवलम्वन गर्नुपर्ने प्रक्रिया, उपयोग तथा लगानीको सीमाजस्ता विविध पक्षहरूका बारेमा प्रकाश पारेका थिए। 

प्रस्तुतिको क्रममा उनले मौद्रिक नीति २०८०/८१ को अर्धवार्षिक समीक्षा आउन लागेको सन्दर्भमा केहि नीतिगत व्यवस्थाहरू उपर छलफल र सुझाव पेश गरेका थिए।  

त्यसैगरी अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले हेजिङको विषयमा नेपाल सरकार गम्भीर रहेको र आपसी समझदारी र सहकार्यबाट यसलाई प्रभावकारी बनाउन तयार रहेको बताए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले छलफलका क्रममा उठेको विषयहरूलाई सम्बोधन गर्दै देशका उद्योगी, व्यवसायी र बैंक सबैको मनोबल उच्च भएमा मात्र देशको आर्थिक विकासमा यसले सकारात्मक प्रभाव पार्ने कुरामा नेपाल राष्ट्र बैंक स्पष्ट रहेको बताए।

नेपाल राष्ट्र बैंकले नीति निर्देशन तर्जुमा गर्ने गरेको बताए। हेजिङको  सम्बन्धमा थप प्रकाश पार्दै उनले अहिले पनि बैंकहरूले कुनै न कुनै रुपमा हेजिङको  सुविधा उपभोग गर्दै आएको र बैंकले आफ्नो क्षमता तथा प्राविधिक दक्षताको आधारमा त्यसको उपयोग गर्न सकिने कुरा बताए।

कार्यक्रमको अन्तमा बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला ज्युले मौद्रिक नीतिमा भएका केही नीतिगत व्यवस्थाहरू र हेजिङ जस्तो महत्वपूर्ण बिषयमा सम्बन्धित सबै सरोकारवालाहरू एकै ठाउँमा छलफल गर्ने वातावरण बनेकाले कार्यक्रम निकै उपलब्धिमूलक भएको बताए। 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू तथा निर्देशकहरू, विभिन्न सरकारी निकाय तथा सरोकारवाला निकायका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका पदाधिकारी र प्रतिनिधिहरू, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र अन्य पदाधिकारीहरू लगायतको उपस्थिति थियो। 


प्रकाशित : बुधबार, माघ १७ २०८०१७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend