शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

फेरि २१०० बाट माथि लाग्यो सेयर बजार, १० अंकले बढ्दा ४ अर्ब ५६ करोडको कारोबार

सोमबार, माघ १५ २०८०
फेरि २१०० बाट माथि लाग्यो सेयर बजार, १० अंकले बढ्दा ४ अर्ब ५६ करोडको कारोबार

काठमाडौं- सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार ९१.०४ अंकले घटेर आइतबार १०.३७ अंकले बढेको सेयर बजारमा सोमबार पनि सामान्य सुधार देखिएको छ। सात कारोबारमा ओरालो लागेको सेयर बजारमा यो साता पहिलो कारोबारमा देखिएको सुधारमा दोस्रो कारोबारमा पनि साथ मिलेको छ।

सोमबार १०.२६ अंकले बढेर बजार २१०४.७२ बिन्दुमा पुगेको छ। १५० कम्पनीको सेयर मूल्य बढ्दा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ। ८६ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पाँच कारोबारमा नै सेयर बजार घटेको थियो। गएको साता आइतबार २५.६३ र सोमबार ३१.४९ अंकले घटेको बजार मंगलबार ०.४० अंकले घटेको थियो। बुधबार १०.२५ अंकले घटेको बजार बिहीबार ३.९४ अंकले घटेको थियो। त्यसअघिको साता अन्तिम दुई कारोबारमा बुधबार १२.१० अंकले र बिहीबार ७.२४ अंकले बजार घटेको थियो। 

उतारचढावपूर्ण बजार सुधारतर्फ लागिरहँदा पछिल्लो सातायता भने कारोबार लगानीकर्ताले सोचेजस्तो हुन सकेको छैन।

नीतिगत सहजतासँगै अहिलेको अवस्थामा बजारमा लगानीकर्ताको साथ देखिएर उचाइतर्फको यात्रा लिइरहँदा उतारचढावको अवस्था देखिन्छ। केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै तल झरिरहेको छ।

बजारको अहिलेको अवस्था उही बिन्दु वरपर नै तलमाथि भइरहने नै छ। लामो समय १९०० को बिन्दु आसपास उतारचढावमा रहेको बजार अहिले २१०० बिन्दु वरपर घुमिरहने देखिएको विश्लेषकहरू बताउँछन्।

लगातार सात कारोबारमा आएको गिरावटले भने लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। आइतबार र सोमबार बजार थामिएर सामान्य बढे पनि उल्लेख्य वृद्धितर्फको बाटो देखिन सकेको छैन। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा संगठित लगानीकर्ताहरू रहेका छन्। 


प्रकाशित : सोमबार, माघ १५ २०८०१५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend